काठमाडौं। नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए।
‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना हुने आठौं संस्करणमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायतका कार्यक्रम हुने अध्यक्ष पाठकले बताए।
उनले भने, ‘यस अगाडिका शृंखलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरेका छौं। चलचित्रप्रेमी दर्शक आकर्षित हुने गरी हामीले प्राप्तमध्येबाट चलचित्र छनोट गरेका छौं। यो विश्वभरका चलचित्रकर्मी भेटघाट, छलफल र चलचित्र आदानप्रदान गर्ने माध्यम बन्नेमा विश्वस्त छौं।’
उनले महोत्सवअन्तर्गत तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को आयोजना गरिने जानकारी दिए। उक्त दिन तीन वटा रसियन चलचित्र प्रदर्शन गरिनेछ। महोत्सवलाई राष्ट्रिय र अन्तरराष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ।
दुवैमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ । नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’मा जोन योञ्जनले निर्देशन गरेको ‘क्रलिङ क्रोज’, दिनेश राउतले निर्देशन गर्नुभएको ‘पूजार सार्की’, सिद्धार्थ पुडासैनीले निर्देशन गर्नुभएको ‘सानो संसार’ र लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’ छनोट भएका छन्।
नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेको छ। यस संस्करणदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव निर्देशक पाठकले जानकारी दिए।
‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलर राशीसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ। त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।
नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई ५०÷५० हजार र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सर्वोत्कृष्ट अन्तरराष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ।
एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ।