थकाली खाना भन्नासाथ मनमा ताजा घिउको सुगन्ध, सन्तुलित दालभात, सुकुटीको स्वादिलो स्पर्श र विविध अचारको संयोजन आउँछ। यो केवल परिकार मात्र होइन, सांस्कृतिक पहिचान पनि हो, जसले मुस्ताङको हिमाली भूगोलदेखि काठमाडौंका गल्लीगल्लीसम्म आफ्नो स्वादयुक्त प्रभाव फैलाइसकेको छ। फिँजिँदै छ।
नेपालमा थकाली खानाको उदय कुनै संयोग मात्र होइन। यसका पछाडि थकाली समुदायको व्यापारिक बुद्धिमत्ता, स्वादप्रतिको गहिरो समझदारी र आधुनिक खानपान संस्कृतिसँग समायोजन गर्न सक्ने क्षमताको हात छ।
मुस्ताङबाट सुरु भएको यात्रा
थकाली खानाको जरो मुस्ताङको थाक खोल्सा क्षेत्रमा छ, जहाँ थकाली समुदाय बसोबास गर्छन्। यो समुदाय परम्परागत रूपमा व्यापारिक प्रवृत्तिका कारण चिनिन्छ। तिब्बत–नेपाल व्यापारका लागि परिचित थकाली सानैदेखि व्यवसायिक ज्ञानसहित हुर्किएका हुन्छन्। यही व्यापारिक चेतनाले गर्दा उनीहरू अन्य स्थानमा पनि व्यवसाय विस्तार गर्न सक्षम भए।
मुस्ताङबाट बसाइँसराइ गर्दा होस् या जाडो छल्न बेनी, बागलुङ, पोखरा, काठमाडौं पुग्दा होस्। थकाली समुदायले आफ्नो भान्साको कला सँगै लगेपछि यो विस्तारै फैलिँदै गएको पाइन्छ। सन् १९६० दशकपछि थकाली पोखरा, बुटवल, काठमाडौं र नारायणगढजस्ता व्यापारिक केन्द्रमा बसाइँ सर्न थाले।
-1742299196.jpg)
व्यापारका क्रममा उनीहरूले होटल व्यवसायलाई प्रमुख पेसा बनाए, जसमा आफ्नै परम्परागत खानालाई प्राथमिकता दिए। होटल सञ्चालन क्रमसँगै थकाली खानाको स्वाद विभिन्न भूगोलमा फैलिन थाल्यो ।
स्वादको लोकप्रियता
थकाली खानाले नेपालीको स्वादअनुसार सजिलै स्थान बनाउन सक्यो। कारण थियो– यसको सन्तुलित पोषण र स्वादको उत्कृष्ट संयोजन। दालभातलाई विशेष रूपमा प्रस्तुत गर्ने शैली, सुकुटीको स्वादिलोपन, विभिन्न गेडागुडी र अचारको विविधता अनि स्वस्थकर खानाको छवि। यिनै कारणले थकाली खाना सबैको रुचाइएको परिकार बन्न पुग्यो।
थकाली खाना पोषणयुक्त र स्वस्थकर मानिन्छ। यसको तयारीमा न्यून तेल प्रयोग, ताजा अर्गानिक तरकारी, घरायसी मसला र स्वच्छतामा विशेष ध्यान दिइन्छ। आधुनिक समय मानिसमा स्वस्थ खानपानतर्फको रुचिले पनि थकाली खानालाई अझ लोकप्रिय बनाएको छ।
पर्यटन प्रवर्द्धनमा भूमिका
थकाली खानाको विस्तारमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण रह्यो। जोमसोम, मुस्ताङ, र पोखरामा जाने पर्यटकले थकाली खानाको स्वाद चाखेपछि यसको लोकप्रियता झनै बढ्यो। विदेशी पर्यटकले समेत यसको प्रशंसा गरेपछि काठमाडौं, पोखरा र अन्य मुख्य सहरमा थकाली भोजनालय खुल्न थाले।
अहिले काठमाडौं उपत्यकारभरि ‘थकाली भान्छा घर’ वा ‘थकाली खाना’ नामका रेस्टुरेन्ट जताततै भेटिन्छन्। उच्चस्तरीय होटल तथा पाँचतारे होटलमा समेत थकाली खानालाई विशेष परिकारका रूपमा पस्कने गरिएको छ। थकाली खाना मेनु बनेको छ, थकाली समुदायबाहिरकाले पनि थकाली खानाको बोर्ड राखेर खानाको स्वाद पस्किरहेका छन्।
-1742299196.jpg)
अब थकाली खानाले नेपालको सीमापार गरेर विदेशमा पनि आफ्नो स्थान बनाउँदै छ। जापान, अमेरिका, अस्ट्रेलिया र बेलायतमा नेपाली समुदायसँगै विदेशीहरू पनि थकाली खानाका पारखी बन्न थालेका छन्।
थकाली खानाको यो यात्रा केवल स्वादको मात्र नभई, नेपाली संस्कृतिको विश्वव्यापी पहिचान निर्माण गर्ने अभियान बनेको ठमेलमा सञ्चालित बगान थकालीका सञ्चालक अर्जुन शेरचनको बुझाइ छ। ‘विदेशीमा पनि नेपाल पुगिसकेपछि नेपाली स्वादयुक्त खानाका लागि थकाली परिकार नै रोज्ने धारणा बनिसकेको छ, जुन हाम्रा लागि सुखद हो,’ सञ्चालक शेरचनले भने, ‘अन्य खानाको तुलनामा थकाली नै मीठो हुनुको प्रमुख कारण भनेको खाना पकाउँदा जुन मिहिनेत र परिश्रम गरिन्छ, त्यही नै हो।’
कसरी चिन्ने थकाली खाना
थकाली खाना परिकारमा सबैभन्दा मुख्य अंश दाल हुने गरेको छ। ‘थकाली समुदायमा दाल कसरी बनाउने र कस्तो फ्लेबर निकाल्ने भन्ने नियमै बनेको छ। त्यही नियमअनुसार दाल पकाउँछौं,’ बगानका सञ्चालक शेरचनले भने, ‘त्यसबाहेक तरकारीको रङ, थालमा राखिएको खानाको सजावटबाट थकाली हो वा हैन भन्ने चिनिन्छ।’ तर, जो थकाली खानापारखी छैनन्, तिनलाई भने अहिले धेरै रेस्टुरेन्टले झुक्याइरहेको उनको भनाइ छ।
अहिले थकाली सेवा समाजले खानाको स्वादमा एकरुपता ल्याउन र आफ्नो अस्तित्व जोगाइराख्न थकाली भान्सा घर एसोसिएसनले थकाली घर एप बनाएको छ। उक्त एपमा आधिकारिक थकाली खाना पाउने रेस्टुरेन्टको नाम राखिएको छ। यी रेस्टुरेन्ट समुदाय र थकाली महिलाको अनुगमनमा सञ्चालन हुन्छन्। अहिले काठमाडौंमा मात्र एक सय बढी थकाली भान्साघर सञ्चालनमा छ, जुन थकाली सामाजले मान्यता दिएको छ।
-1742299195.png)
यस्तै, पोखरा, मुस्ताङ, बागलुङ र म्याग्दीलगायत क्षेत्रमा पनि विस्तार गरिएको छ। एपमार्फत विशुद्ध थकाली खान चाहनेले सहजै हेर्न र बुझ्न सक्छन्।
समाजले विभिन्न नियम बनाएको छ, जुन नियममा खाना परिकार राख्दा कसरी र कुन साइडमा राख्ने भन्नेसमेत समावेश छ। थकाली खाना बनाउने तरिका सेफलाई सिकाइए पनि त्यसमा प्रयोग हुने मसला भने अधिकाशं थकाली समुदायले बनाउने गरेको बताइन्छ। ‘पकाउने सीप हरेक कुकमा छ तर, त्यहाँ प्रयोग हुने मसला कसरी तयार हुन्छ भन्ने कुरा भरसक अरुलाई भन्दैनौं,’ बगान सञ्चालक शेरचनले भने।
थकाली परिकारमा दाल बनाउन लेकाली राजमा प्रयोग गरिएको हुन्छ। दाल विम्बु, टिमुर र लसुनले झान्ने गरिन्छ। मासको दाल भने थकाली परिकारमा झान्ने गरिँदैन। अझ कालो दाल प्रेसर कुकरमा सिठी लगाएर फलामको भाँडोमा घोटेर हरियो बनाइन्छ। घिउ र अदुवाले झान्ने गरिन्छ।
परम्परा, व्यापारिक सोच र आधुनिकतालाई सन्तुलित रूपमा समेट्न सक्ने थकाली खानाको लोकप्रियता आगामी दिनमा अझ विस्तार हुँदै जाने मोनालिसा थकाली नक्सालका सञ्चालक विजयबाबु शेरचन बताउँछन्।
थकाली खाना स्वादका हिसाबले अतुलनीय, स्वास्थ्यका हिसाबले निकै हाइजिन र सबैखाले पोषणयुक्त छ। थकाली खानालाई कृत्रिम रंग प्रयोग नगरी, सागको हरियो, तरकारीको पहेंलो, भातको सितालगायतका प्राकृतिक रंगले सजाइने गरेको उनले बताए। ‘देख्दै खाउँ-खाउँ लाग्ने थकाली खानामा दालभात मात्रै नभएर अन्य पोषिला विविध परिकार समावेश छन्,’ उनले भने, ‘स्वास्थ्यवद्र्धक र स्वादिष्ट दुवै भएका कारण यति धेरै रुचाइएको हो।’
थकाली समुदायको खाना परिकार थकाली खाना
अहिले जताततै फैलिएको छ, थकाली खाना। धेरैको बुझाइ पनि थकाली खाना कुनै परिकार हो भन्ने लाग्न सक्छ। तर, खासमा यो खाना थकाली समुदायले खाने भएर थकाली भएको हो। अर्थात्, एउटा जातले खाने खानालाई नै थकाली खाना भनेर प्रचार गरिएको हो। थकाली समुदायले खाने परिकारलाई नै अहिले थकाली खानाको उपनाम दिएर बेचिँदै आएको छ।
-1742299195.jpg)
मोनालिसा थकाली नक्सालका सञ्चालक विजयबाबुका अनुसार व्यावसायिक रुपमा थकाली खाना बेचबिखन पोखराबाट सुरु भएको हो। पोखरामा उनकै आमा उषा शेचरचनले २०२५ मा उषा लज सञ्चालन गरी थकाली खाना परिकार बेच्न थालेकी थिइन्।
हिमाली जिल्ला मुस्ताङमा थाक सात सय क्षेत्र (थाकखोला) थकाली समुदायको बाहुल्य भएको क्षेत्र हो। थकाली परिकार नेपालको परम्परागत परिकारमध्ये सर्वाधिक प्रचलित पनि मानिन्छ। थकाली खानामा सामान्यतया घिउ हालेको मसिनो चामलको भात वा ढिँडो हुन्छ । त्यस्तै मुस्ताङी कालो दाल, साँधेको गुन्दु्रकको अचार, मिक्स अचार, मौसमी तरकारी, साग, सलाद, मोही, दही तथा कुखुरा वा खसीको मासु समावेश गरिन्छ। फराकिलो थालको बीच भागमा भात र वरिपरि १२ वटा स-साना आइटम राखिने थकाली खाना उत्तिकै रुचिकर लाग्छ।
‘पहिला भात फरर्र पारेर पस्किन्थ्यौं, अहिले बटुकामा हालेर सेप निकाली सर्भ गर्ने चलन आयो। गुन्द्रुक, पापड, करेला, सलाद थकाली खानामा राखिँदैनथ्यो। अहिले राख्न थालियो,’ विजयबाबुले भने, ‘मौलिक थकाली खानामा मासुको पातलो झोलसँग भात पस्किइन्थ्यो। अहिले मासुको ग्रेभी बनाइन्छ। कन्चम्पा, लेपकु, तुङ, कातुङ, टिमुर, आलुको तरकारी, सुकुटी आलु प्ला, मुस्ताङ आलु, रायो साग ठेट थकाली खाना हुन्।’