काठमाडौं। बैंकिङ प्रणालीमा कर्जा योग्य रकम थप हुँदै जाँदा बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ६० प्रतिशतको हाराहारीमा झरेको छ। उद्योगी व्यवसायीले नयाँ कर्जा लिन छाडेपछि बैंकहरुमा खर्बौं कर्जा योग्य रकम थन्किएको हो।
चालु आर्थिक वर्षको फागुन महिनासम्म वाणिज्य बैंकहरुको सिडी रेसियो औसत ७९.२९ प्रतिशत कायम भएको छ। उक्त अवधिमा वाणिज्य बैंकहरुले कुल ६० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ९० प्रतिशत सिडी रेसियो कायम गर्नुपर्ने व्यवस्था गरेको छ। अर्थात बैंकहरूले एक सय रुपैयाँ निक्षेप (स्रोत) संकलन गरेको स्थितिमा ९० रुपैयाँ कर्जा लगानी गर्न पाउँछन्। फागुनसम्म बैंकहरुले संकलन गरेको निक्षेपमा राष्ट्र बैंकले तोकेको सिडी रेसियो कायम गरेर ५४ खर्ब ३३ अर्ब ३३ करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्थ्ये।
तर, कर्जा माग नभएपछि बैंकले साढे ४८ खर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्न सकेका छन्। बैंकमा ५ खर्ब ८२ अर्ब ७४ अर्ब रुपैयाँ कर्जा योग्य रकम थन्किएर बसेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन मसान्तमा १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँ लागानी योग्य रकम (तरलता) मौज्दात रहेको थियो।
बैंकहरुले संकलित निक्षेपबाट ऋणीलाई कर्जा दिन सकेनन् भने राष्ट्र बैंकले उक्त पैसा निक्षेप संकलन विधिमार्फत् बोलकलमा न्यूनतम ब्याजदर निर्धारण गरी लिने गरेको छ। चालु वर्ष सुरु भएयता राष्ट्र बैंकले २० खर्ब २८ अर्ब ८० करोड रुपैयाँ अधिकतम ३ प्रतिशतसम्म ब्याज दिएर लिइसकेको छ। यद्यपि, बैंकहरूले उक्त अवधिसम्म २४ खर्ब १० अर्ब ५५ करोड रुपैयाँ निक्षेप राख्न निक्षेप संकलन बोलकबोलमा सहभागी भएका थिए।
बैंकहरुले निक्षेप संकलन सहज पाइरहे पनि सोहीअनुसार कर्जा प्रवाह गर्न नसक्दा सिडी रेसियोको अन्तर निरन्तर फराकिलो हुँदै गएको हो। फागुन महिनामा अधिकांश वाणिज्य बैंकको सिडी रेसियो ६३ प्रतिशतसम्म झरेको छ।
उक्त अवधिमा ८ वटा बैंकको ८० प्रतिशतभन्दा तल ६३.८६ प्रतिशतसम्म र १२ वटाको ८० प्रतिशतमाथि ८५.६५ प्रतिशतसम्म कायम छ। सिडी रेसियोको आधारमा उक्त अवधिमा सबैभन्दा बढी कर्जा प्रवाह माछापुच्छ्रे बैंकमा र सबैभन्दा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेको देखिन्छ।
माछापुच्छ्रे बैंकले संकलिन निक्षेपको ८५.६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्दा राष्ट्रिय वाणिज्य बैंकले ६३.८६ प्रतिशत मात्रै प्रवाह गर्न सकेको देखिन्छ। साथै, उक्त अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको समेत सिडी रेसियो ६८.४८ प्रतिशत कायम भएको छ।
फागुन महिनामा नेपाल बैंकको सिडी रेसियो ७२.७८ प्रतिशत, प्रभु बैंकको ७४.९७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७६.७६ प्रतिशत, कृषि विकास बैंकको ७६.९९ प्रतिशत र ग्लोबल आइएमई बैंकको ७७.६५ प्रतिशत कायम छ। उक्त अवधिमा सानिमा, लक्ष्मी सनराइज, हिमालयन, नबिल, कुमारी, एनएमबि, एभरेष्ट, एनआइसी, सिद्धार्थ, सिटिजन र प्राइम कर्मसियल बैंकको सिडी रेसियो ८० प्रतिशतमाथि ८५ प्रतिशतसम्म कायम छ।
फागुन महिनासम्म रकमको आधारमा भने सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले ५ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सिडी रेसियो सबैभन्दा धेरै भएको माछापुच्छ्रे बैंकले फागुनसम्म १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब ८९ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको हो।
