कम्बोडिया। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा १० औँ एसिया-प्यासिफिक क्षेत्रीय सम्मेलन मंगलबारदेखि कम्बोडियामा सुरु भएको छ। 'संगम-एकता' नाराका साथ आयोजित यो सम्मेलनले प्रवासी नेपाली समुदायबीच एकता, सहकार्य र समृद्धिका विषयमा गहन छलफल गर्ने अपेक्षा गरिएको छ।
दुई दिवसीय सम्मेलनमा एसिया-प्यासिफिक क्षेत्रका ११ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ, संघका पदाधिकारी तथा नेपाली समुदायका अगुवासहित ३०० भन्दा बढी सहभागी भएका छन्। सम्मेलनमा गैरआवासीय नेपालीका हक अधिकार, नेपालमा लगानी, सामाजिक तथा सांस्कृतिक समृद्धि, महिला, युवा तथा दोस्रो पुस्ताका नेपालीहरूको भूमिका जस्ता महत्वपूर्ण विषयमा छलफल हुनेछ।
सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गैरआवासीय नेपालीबीचको एकता आवश्यक रहेको बताउँदै संघको नेतृत्वले दिगो एकतामा ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, 'नेपाल सरकारले तपाईंहरूका बीच एकता खोजिरहेको छ। विशेषगरी परराष्ट्र मन्त्रालयले यस विषयलाई प्राथमिकताका साथ हल गर्दै एकताबद्ध गतिविधि सञ्चालन गर्न पहल गरिरहेको छ।'

त्यस्तै, सांसद एकनाथ ढकालले गैरआवासीय नेपाली संघलाई राजनीतिबाट अलग राख्न सके नेपालको समृद्धिमा ठुलो योगदान पुग्ने उल्लेख गरे। उनले भने, 'मातृभूमिको समृद्धि र हित चाहने हो भने यस संघलाई गैरराजनीतिक बनाउनुपर्छ। सामाजिक क्षेत्रमा तपाईंहरूको योगदान अतुलनीय छ।'
पूर्वकानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिले गैरआवासीय नेपालीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार संविधानमै सुनिश्चित गरिसकेको भन्दै त्यसमा हस्तक्षेप गर्न नहुने बताए। उनले भने, “संविधानले गैरराजनीतिक अधिकार दिने स्पष्ट व्यवस्था गरिसकेको छ, त्यसमा कुनै शंका हुनु आवश्यक छैन।”
गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसीले महाधिवेशनबारे उठेका प्रश्नहरू स्पष्ट पार्दै उच्चस्तरीय समितिले नै महाधिवेशन गराउने भए पनि अक्टोबरमै गर्न सकिने वैधानिक व्यवस्था रहेको बताए। उनले भने, 'हामी बृहत् एकताका लागि लचक छौँ, तर हाम्रा एनसीसीहरूको कार्यक्रम प्रभावित हुनुहुन्न। यदि उच्चस्तरीय समितिकै १३ जनाले महाधिवेशन गराउने भए पनि मे महिनामा सम्भव छैन, तर यसको वैधानिक आधार छ।'
संघका एसिया-प्यासिफिक संयोजक हरि भट्टराईले सम्मेलनले संस्थाभित्रको एकतालाई प्राथमिकता दिएको उल्लेख गरे। उनले भने, 'हामीबीच रहेका समस्याका विषयमा गम्भीर छलफल गर्ने र लगानीको नयाँ सम्भावनाबारे समेत विचार-विमर्श गर्न यो सम्मेलन सफल हुनेछ।'
त्यस्तै, संघका उपाध्यक्ष डा। हेमराज शर्माले गैरआवासीय नेपाली संघभित्र पुस्तान्तरणको आवश्यकतामा जोड दिए। यो सम्मेलनले एनआरएनएको आन्तरिक सुदृढीकरण, प्रवासी नेपाली समुदायबीचको एकता र नेपाल-प्रवासी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।