काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी मुलुक ओमनसँग श्रम सम्झौताको तयारी गरेको छ । शुन्य लागतमा कामदार पठाउने गरी ओमनसँग श्रम सम्झौता हुन लागेको हो ।
श्रम सम्झौता नगरी कामदार पठाउदा विभिन्न समस्याहरु देखा परेको भन्दै पछिल्लो समय श्रम मन्त्रालयले विभिन्न मुलकसँग श्रम सम्झौता गरीरहेको छ । अहिलेसम्म आठ देशसँग श्रम सम्झौता गरिसकेको छ ।
श्रम मन्त्रालयका सहसचिव एवंम प्रवक्ता सुमन घिमिरेले ओमनसँग श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । नेपालबाट आवश्यक सम्पूर्ण प्रक्रियाहरु पुगिसकेको बताउदै ती देशको जवाफ पर्खिरहेको उनको भनाइ छ ।
पूर्व श्रम मन्त्री गोकर्ण विष्टले करिब १५ महिना मलेसियाको रोजगारी बन्द गरेपछि धेरै नेपालीहरु रोजगारीका लागि नयाँ नयाँ मुलुकमा जान लागेसँगै श्रम सम्झौता र समझदारीको कामलाई तिब्रता दिएको हो ।
ओमनमा अहिले पनि नेपालीहरु कामका लागि जाने गरेका छन । श्रम सम्झौता गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट पास भएर ओमन पठाइएको मन्त्रालयका सहसचिव घिमिरेले बताए ।
वार्षिक कति कामदार आफ्नो देशमा लैजाने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता घिमिरेको भनाई छ । तर, सुरुवाती चरणमा सामान्य कामका लागि कामदार लैजाने ओमनको तयारी छ ।
ओमनसँग पनि मलेसियाकै मोडलमा सम्झौताको तयारी भएको छ । केही महिना अघिबाटै सम्झौताको लागि नेपाल तयार रहेपनि त्यहाँको देशले ढिलाई गरेकै कारण रोकिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
श्रम मन्त्री रामेश्वर राय यादवले रोकिएका र ढिला भएका देशहरुसँग धमाधम श्रम सम्झौता र समझदारीका लागि प्रक्रिया अगाडी बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
यसैबीच मन्त्री यादवले जापानमा कामदार भिषामा नेपाली युवाहरुलाई पठाउने विषयमा पनि तत्काल प्रक्रिया टुंगोमा पुर्याउन सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिइसकेका छन् ।
कुन मोडलमा कामदार पठाउने र जापानबाट नेपालमा कसले डिमाण्ड ल्याउने भन्ने विषय टुंगोमा पुग्न नसक्दा २०१९मा लिइएको भाषा परीक्षामा उर्तिण भएका १७ जना युवाहरु अझै जापानमा जान सकेका छैन ।
“मन्त्री ज्यूले जापान लगाएत विभिन्न देशको रोजगारीको विषयमा चासो देखाउनु भएको छ, प्रवक्ता घिमिरेले भने “हामी छिटो र सरल तरिकाले कामदार पठाउने गरी कामलाई तिब्रता दिइरहेका छौं ”।
जापानमा श्रम समझदारीपछि बनेको प्राविधिक समितिको बैठक नेपालमा गर्ने गरी सहमति भएपनि कहिले बस्ने भन्ने टुंगो लाग्न सकेको छैन् । अब केहि समय भित्रै बैंठकको मिति तय हुने प्रवक्ता घिमिरेको भनाइ छ ।