काठमाडौं। सरकारी निर्णयबिनै सिन्डिकेट खडा गरेर नेपाल सिमेन्ट उत्पादक संघले आफूखुसी सिमेन्ट मूल्य बढाएपछि सर्वसाधारणबाट भइरहेको विरोधका स्वर जनप्रतिनिधिको थलो संसदमा पनि पुगेको छ।
सिमेन्टको मूल्यमा वृद्धि गरेपछि प्रतिनिप्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोलाइएका संघका पदाधिकारी र सांसद सदस्यबीच बैठकमै चर्काचर्की परेको हो।
समिति सदस्यले बैठकमा सिमेन्ट उद्योगीले दिएको धम्की फिर्ता लिन चेतावनीसमेत दिएका छन्।
बैठकमा नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान ध्रुव थापाले सिमेन्टमा गरिएको मूल्यवृद्धिबारे बुझ्न संसदीय समितिमा किन बोलाएको भनेर सांसदलाई थर्काएपछि बैठकमा धम्कीपूर्ण भाषा प्रयोग नगर्न सचेतसमेत गराइएको थियो। थापाले सांसदहरुलाई थर्काउँदै भनेका थिए, ‘हाम्रो काम उद्योग चलाउने हो, अब बोलाइयो भने समिति बैठकमा आउँदैनौं। जे गर्न मन भए गर्नू।’
जनप्रतिनिधिलाई धम्कीको भाषा बोलेपछि समिति सदस्यहरूले आपत्ति जनाएका छन्। संसदीय समितिमा यस्तो भाषा प्रयोग गर्न निषेध रहेको उनीहरुलाई थापाहरुलाई सम्झाउनुपरेको छ।
‘उद्योगीले धम्की फिर्ता नलिने भए हामी समिति बैठकमा बस्दैनौं। धम्की खानकै हामीले तपाईंलाई यहाँ बोलाएको होइन। विषय गम्भीर भयो। तपाईंले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ। यो गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो। सिमेन्टको मूल्य आफूखुसी बढाउने होइन’, समिति सदस्य कान्तिका सेजुवालले थापालाई सम्झाइएको बताइन्।
आफूखुसी मूल्य बढाउने तर बढाउनुको कारण सरकारले खोज्दा उद्योगीले जवाफ दिनुपर्नेमा उल्टै थर्काएपछि बैठक गरम बनेको सेजुवालको भनाइ छ।
समिति सदस्य रमा कोइराला पौडेलले बैठक सभापतिले बोलाउनुभएको हो कि व्यवसायीले बोलाएको हो भन्ने प्रश्नसमेत गरिन्।
‘आफूखुसी मूल्य बढाउने सिमेन्ट उद्योगीका तर्क अनुचित छन्। धम्की मान्य छैन। अहिले लोडसेडिङ नभएको बेला किन बढाइयो सिमेन्टको मूल्य? बेमौसममा सिमेन्टको मूल्य बढाउँदा राष्ट्रको बजेटमै समस्या परेको छ। प्रधानमन्त्रीलाई समिति बैठकमा बोलाउँदा आउनुपर्छ भने सिमेन्ट उद्योगी आउँदिनँ भन्नु अराजकता हो। जनप्रतिनिधिलाई धम्काउन पाइँदैन,’ उनले भनिन्।
उनले बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई सिमेन्टको मूल्य आफूखुसी बढाउने उद्योगीको निर्णय फिर्ता लिन निर्देशन दिनुपर्ने सुझाइन्।
अर्का सदस्य लक्ष्मी महतो कोइरीले सिमेन्ट उद्योगीमा अहंकार देखिएको प्रतिक्रिया दिइन्। ‘म पनि इँटाभट्टा चलाएर आएकी हुँ। मन्त्रीको आडमा तपाईंहरू यस्तो हुनुभएको हो कि? उद्योगी भन्दैमा जे पायो त्यही बोल्न पाइन्न। भाषा सुधार्नुस्’, उनले भनिन्।
समितिका अर्का सदस्य अमृतादेवी अग्रहरीले सिमेन्ट उद्योगको आफूखुसी मूल्य बढाउने निर्णयमा उद्योग मन्त्रालयले साथ दिएको आरोप लगाइन्।
‘मन्त्रालयले नभनी उद्योगीले त्यसै सिमेन्टको भाउ बढाउन नसक्ने उनको दाबी छ। सिमेन्टको आफूखुसी मूल्य बढाउनेमाथि कारबाही गर्नुपर्ने माग उनको छ।
समिति सदस्य लालप्रसाद साँवा लिम्बूले साउनयता सिमेन्ट कारखानामा कच्चापदार्थको मूल्य, बैंक ब्याज, डिजेल पेट्रोल, कामदारलाई दिएको ज्याला र तिरेको करको फेहरिस्त पेस गर्न सिमेन्ट उद्योगीलाई चेतावनी दिए।
यस्तै, अर्की सदस्य रेखा यादवले सिमेन्टमा मूल्यवृद्धि हुँदा सरकार मौन बसेकाले मिलोमतो शंका उब्जिएको बताइन्।