काठमाडौं। सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०८१/८२ मा प्राप्त बजेटमध्ये हालसम्म १७.९३ प्रतिशत मात्रै खर्चिन सकिएको विवरण सार्वजनिक गरेको छ।
चालू आर्थिक वर्षको आठ महिने प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयलाई प्राप्त ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार बजेटमध्ये हाल हालसम्म १२ अर्ब २४ करोड ३ लाख ८७ हजार रुपैयाँ मात्रै खर्च भएको जानकारी दिएको हो। चालू आर्थिक वर्ष सकिन अब करिब चार महिना मात्रै बाँकी छ।
मन्त्रालयका अनुसार चालूतर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ। हालसम्म चालूतर्फको खर्च २५.२३ प्रतिशत छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत छ।
मन्त्रालयका अनुसार चालू आवका लागि ३ हजार ७१६ नयाँ कार्यक्रममध्ये जम्मा १ हजार ६२३ वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ। त्यसैगरी बोलपत्र आह्वान भएका १ हजार ६२३ कार्यक्रममध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमको निर्माण कार्य सम्पन्न भईसकेको छ।
बोलपत्र आह्वान हुन नसकेका बाँकी २ हजार ९३ वटा कार्यक्रममध्ये २ सय ८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन् भने ८० वटा कार्यक्रम संशोधनका लागि प्रस्तावित कार्यक्रम हुन्। संशोधनका लागि प्रस्तावित ८० वटा कार्यक्रममध्ये ४४ वटा संशोधन भई आइसकेको छ भने बाँकी संशोधन हुने प्रक्रियामा छन्।
त्यसैगरी १ हजार ४५९ वटा पुराना (क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रम) मध्ये चालू आर्थिक वर्षमा जम्मा २८० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् ।
मन्त्रालयका अनुसार सभाहल÷सिटीहलको निर्माण कार्यअन्तर्गत सुनसरीको लौकही सभाहल र बाँकेको नेपालगन्ज सिटीहल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकामा लौकही सभाहलको निर्माण कार्य अन्तिम चरणमा रहेको र नेपालगञ्ज सिटिहलको ठेक्का अनुसारको निर्माण कार्य सम्पन्न भई विल फरफारकको अन्तिम चरणमा रहेको छ।
त्यसैगरी भैँसेपाटी स्थित मन्त्री निवासको दोस्रो चरणको निर्माण कार्य र चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा हालसम्म भैसेपाटी स्थित मन्त्री निवासको दोश्रो चरणको निर्माण कार्य ८० % सम्पन्न भई बाँकी निर्माण कार्य भईरहेको छ भने चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको र प्रयोगमा आइसककोे छ।
यस आवमा सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको कार्यालय भवन, नेपालगंज सिटी हल निर्माण,दमक व्यापारिक कम्प्लेक्स, नेपाल राष्ट्र बैंक, बैंकिङ्ग कार्यालय, थापाथली, भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका स्थित ऐतिहासिक शंखदह पुननिर्माण कार्य, जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको क्ष्लतभचष्यच कार्यको, पुल्चोक स्थित साँझा प्रकाशनको एनेक्स ब्लक र धनगढी सभाहल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको मन्त्रालयको कार्यप्रगति विवरणमा उल्लेख छ।

यस आवमा १०० किमि ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य रहेकोमा हालसम्म झापा, रोल्पा र पर्वत गरी ३ जिल्लामा ८.६ किमि निर्माण भएको छ। त्यसैगरी जम्मा ३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेका गेरूका नदी पुल, सर्लाही, माडर पुल निर्माण, सिरहा न.पा.३ तपोवन चौलानी नदी मोटरेवल पुल दार्चुला, लिखु खोलापुल, सोलुखुम्बु र सुखचैना बुधौराको पूर्व पुल सिरहा गरी ५ वटा सडकपुल निर्माण सम्पन्न भइसकेको छ। त्यसैगरी ३३० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ।
स्थानीय तहबाट हुने सार्वजनिक सेवा प्रवाह सहज रूपमा दिने उद्देश्यका साथ मन्त्रालयले ६८ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म ३६ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरी सार्वजनिक सेवा सुचारु भएको छ। १२९ वटा पालिकाका प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेका छन्। त्यसैगरी गणेशमान स्मृति समावेशी भवन निर्माण कार्य पनि अन्तिम चरणमा रहेको छ।
साथै यस आवमा १७२३ हे. सिञ्चित क्षेत्रफल वृद्धि गर्ने उद्देश्य रहेकोमा साना सिंचाइ कार्यक्रम कार्यान्वयनअन्तर्गत ६७८ हे. क्षेत्रमा सिंचाइ सुविधा पुगेको छ।
अन्य भौतिक प्रगति
२०८१/०८/२८ मा मन्त्री परिषदबाट राष्ट्रिय सहरी नीति स्वीकृत भएको छ।
स्थानीय पूर्वाधार विकास विभागबाट त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गेपुल निर्माण कार्य सम्पन्न भई रष्ट्रपतिबाट समुदघाटन भई सञ्चालनमा आइसकेको छ।
सहरी विकास तथा भवन निर्माण विभागबाट झापा स्थित दमक व्यापारिक कम्पलेक्स निर्माण सम्पन्न भई प्रधानमन्त्रीबाट समुदघाटन भएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सार्वजनिक जग्गा संरक्षणअन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाटि प्लाजा (पहिलो चरण) गरी दुई वटा पार्क निर्माण सम्पन्न भएको छ।
बागमती सुधार आयोजना अन्तर्गत यस आवमा २०० मिटर नदी तटबन्ध, ३५० मिटर सडक कालोपत्रे र १५० मीटर मुख्य ढल निर्माण भएको छ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ।
नगर विकास कोषबाट सहरी खानीपानी सरसफाइ आयोजनाअन्तर्गत ११ वटा आयोजना निर्माण सम्पन्न भएको र १६ वटा आयोजना स्तराेन्रति गरिएको छ।
सहरी उत्थान तथा जीविकोपार्जन सुधार आयोजनाअन्तर्गत नगरपालिकाहरुको समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने गरी एसीयाली विकास बैंकसँग सम्झौता भई पोखरा, जनकपुर, देवदह, सेनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा कार्यक्रम अघि बढेको छ।
संविधान दिवसका दिनबाट धरहरा संचालनमा ल्याई परीक्षण गर्न धरहरा, बेसमेन्ट पार्किङ र बगैँचा सर्वसाधारणका लागि खुला गरिएको छ। हालसम्म १ लाख ३० हजार भन्दा बढीले भ्रमण गरेको र २ करोड ३७ लाख बढी राजस्व संकलन भएको छ।