काठमाडौं। सिचुवान एयरलाइन्सको जहाज १२८ चिनियाँ पर्यटक लिएर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको छ।
आजदेखि पोखरा–छेन्दु रुटमा १० सातासम्म नियमित व्यावसायिक चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
सिचुवान एयरलाइन्समा १२८ चिनियाँ पर्यटक रहेको नपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको हो। ‘चीनको छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडान भर्खरै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। जहाजमा १२८ यात्रु सवार छन्। जहाज फर्किंदा १२० बढी यात्रुलाई चीन लैजानेछ,’ नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सामाजिक सन्जाल एक्समार्फत भनेका छन्।
पोखरा अवतरण भएको जहाजले नेपालबाट १२० बढी यात्रु लिएर छेन्दु उड्नेछ। दुई देशबीच पर्यटन प्रवर्द्धका कार्यक्रमसमेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गरेका छन्। पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको हो। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्नेछ।
छेन्दु–पोखरा चार्टर्ड उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।
‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकन अवसर दिनेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको‘ भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।’
हवाई उडानबाट दुई देशका सहर जोडिँदा आपसी मित्रता र सहकार्य थप बलियो हुनेछ। छेन्दुबाट पोखरा आएको सिचुवान एयरलाइन्सको व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का मा सहभागी हुन चीन जानेछ।
नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने कार्यक्रम छ।
चिनियाँ ऋण लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेर सञ्चालनमा आए पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।