काठमाडौं। नेपालमा तीन वटा क्यासिनो सञ्चालन गरिरहेका व्यवसायी रवि शर्मा धितालले झापाको पाँचतारे होटल किंग्सबेरी खरिद गरेका छन्। लामो समयदेखि झापाको बिर्तामोडमा सञ्चालित सो होटल १ अर्ब ९५ करोडमा खरिद गरेका हुन्।
क्यासिनो सञ्चालनमा आक्रामक लगानी विस्तार गरिरहेका धितालले पहिलोपटक होटल क्षेत्रमा लगानी विस्तार गरेका हुन्। धितालले खरिद गरेको सोही होटलमा लामो समयदेखि क्यासिनो सेभन हर्स सञ्चालन गरिरहेका छन्।

भारतीय पर्यटकको मुख्य आकर्षण बनिरहेको सो होटललाई विस्तार गरी लक्जरी प्रोपर्टी बनाउने योजना बनाएको सञ्चालक धितालले जानकारी दिए। क्यासिनोसँगै वेडिङ डेस्टिनेसनको रुपमा किंग्सबेरीलाई विस्तार गर्ने गरी लगानी विस्तार गरिएकाले यसले थप पर्यटक र गुणस्तरीय पर्यटकलाई आकर्षण गर्न सकिने उनकाे भनाइ छ।
‘भारतीयका लागि नेपाल क्यासिनोका लागि मूख्य गन्तव्य बन्न सक्छ,’ सञ्चालक धितालले भने, ‘यसबाट सरकारलाई राजश्व पनि वृद्धि हुने र रोजगारीसमेत बढिरहेको छ।’
होटल र क्यासिनोसहित हाल उनले २ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको जानकारी दिए। ८२ वटा कोठा रहेको होटलमा ६ सुइट, ५ कार्यकारी र ७१ डिलक्स कोठा सञ्चालनमा छन्।
यस्तै आधुनिक सुविधा जस्तै रूफटप बार, पुलसाइड बार, फिटनेस सेन्टर, स्विमिङ पुल, स्पा, र विभिन्न स्वादका भोजनालय छन्। जसमा अलडे डाइनिङ रेस्टुरेन्ट र शुद्ध शाकाहारी रेस्टुरेन्ट पनि सञ्चालनमा छ। होटलमा हाल प्रत्यक्ष रुपमा ३०० बढी श्रमिक आबद्ध छन्। सोही होटलमा धितालको क्यासिनो सेभन हर्स सञ्चालनमा छ।

तीन ठाउँमा चलाउँछन् क्यासिनो
काठमाडौंको एभरेष्ट होटलमा क्यासिनो एभरेष्ट सञ्चालन गरेर व्यावसायिक यात्रा सुरु गरेका धितालले भारतको गोवाका व्यवसायी गोपाल गोयलसँग साझेदारी गर्दै आएका छन्। गोयल गोवामा सञ्चालित बिग ड्याडी क्यासिनोका सञ्चालक हुन्। उनै गोयलसँगको सहकार्यमा तीन ठाउँमा क्यासिनो चलाउँदै आएका छन्।
उनले पछिल्लो समय झापाकै धुलाबारीमा सञ्चालित पाँचतारे होटल मेचीक्राउनमा ‘क्यासिनो भेगास’ र भैरहवामा रहेको टाइगर प्यालेसमा ‘क्यासिनो टाइगर प्यालेस’ सञ्चालन गरिरहेका छन्।