काठमाडौं । मुलुकको संघीय राजधानी भित्रिने प्रमुख नाकाका रुपमा रहेको नागढुंगा—मुग्लिन सडक तीन लेनको बनाईने भएको छ । कुल ९४ किलोमिटरको सडकमा आधाभन्दा बढि भागमा एक लेन थप गरिने योजना रहेको सडक विभागले जनाएको छ ।
यसअघि विभागले सो सडकलाइ चार लेनमा विस्तार गर्ने बताएको थियो । तर, नागढुंगा सुरुङमार्ग, फास्ट ट्रयाक निर्माण र बैकल्पिक सडक निर्माणलगायतका योजना भएकाले तत्काल सडक र यातायात सहज बनाउन एक लेन मात्र थप गर्न खोजिएको हो ।
सडकको उक्त खण्डअन्र्तगत ७ किलोमिटरमा चार लेन, एक किलोमिटरमा ६ लेन र बाँकी भागमा तीन लेन बनाइने सडक विभाग अन्र्तगत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
उनले आधाभन्दा बढि सडक तीन लेनको हुने र साँघुरो, भीर, चट्टान भएको जोखिम खण्ड भने यथावत राखिने बताए । ‘कृष्णभीर, मनकामना केबलकारदेखि मुग्लिन खण्डका साँघुरा सडक विस्तार गर्न सकिदैन होला । किनकी माथिबाट पहिरो आएर समस्या आउने हुँदा त्यसलाइ छुदै नछुने । ती बाहेक सजिला ठाउँहरुमा एक लेन थपिदिने योजना छ’ उनले भने, ‘९४ किलोमिटर भनेका छौं । त्योमध्ये आधाभन्दा बढि तीन लेन बन्छ ।’
मुख्य सडकमा एक लेन विस्तार गरिए पनि बजार क्षेत्रमा भने सर्भिस लेन र आकाशे पुल बनाइने छ । उकालो ठाउँमा मालबाहक सवारीका लागि निर्धारित लेन निर्माण बनाइने छ ।
सडकखण्डमा २१ ओटा पुल बन्नेछन् । पुल भने सबै चार लेनको हुने बताइएको छ । हाल भइरहेका दुई लेनको पुल नभत्काई त्यससँगै ‘साइड’मा सडक जत्तिकै चौडाइको पुल निर्माण गरिनेछ । सोही परियोजनाअन्तर्गत झण्डै १० वटा आकाशेपुल निर्माण गर्ने योजना छ ।
सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय तथा सामाजिक प्रभाव मुल्यांकन प्रतिवेदन (इएसआइए) तयार भइसकेको सडक विभागले जनाएको छ ।
सडक निर्माण भएको पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्र्तराष्ट्रिय ग्लोबल टेन्डर गरिनेछ । सडक निर्माणका लागि झन्डै २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सडक विस्तार तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
यो चालू आर्थिक बर्षभित्र सम्पूर्ण प्रक्रियागत र काजगी कुराहरु सम्पन्न गरी अर्कोबर्षदेखि सडक विस्तार अघि बढाइने जनाइएको छ । यस सडकको विस्तारको तयारीसँगै त्यसको विकल्पका रूपमा त्रिशूली नदी पारिपट्टिको सडक निर्माणको योजना बनाइएको छ।
राजमार्गसँग समानान्तर हुनेगरी गल्छीदेखि विशालटारम्म दुई लेनको सहायक सडक निर्माण हुने थापाले बताए र स्थानीय तहले यसअघि नै सडकको ट्रयाक खोलिसकेकाले दुइ लेनको सडक बनाइने योजना भएको बताए ।
नागढुङ्गा–मुग्लिन सडक सरकारले छ लेन विस्तारको तयारी गरिरहे पनि बजार क्षेत्रमा चार लेनभन्दा विस्तार गर्न नसकिने हुँदा वैकल्पिक रूपमा पारिपट्टि पनि सँगसँगै निर्माण गर्न लागिएको हो। कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्थाले यो सडकलाई विकल्पका रूपमा अघि बढाइएको हो।
उनका अनुसार, अहिलेको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक मुग्लिन–नारायणगढ र पूर्व–पश्चिम राजमार्गअन्र्तगत पथलैयादेखि कमला सडक खण्डको निर्माण र विस्तारमा विश्व बैंकको सहयोग रहनेछ । त्यस्का लागि विश्व बैंकले रणनीतिक सडक ‘कनेक्टिभिटी’ विस्तार आयोजनाअन्तर्गत दुई ओटा सडकको निर्माण र विस्तार गर्न ६३ अर्ब रुपैयाँ लगानी गर्दैछ ।