काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
आज सार्वजनिक लेखा समितिको बैठकमा बिहान ११ बजे बस्दै छ। उक्त बैठकमा समितिको २३औं प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफल हुनेछ। उजुरी अध्ययनको विषय पनि छलफलको कार्यसूचीमा रहेको छ।
संसद् सचिवालयका अनुसार आज अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफाबार छलफल हुनेछ।
बैठक बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगतिलगायत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ।
दिउँसो २ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची छ।
यस्तै, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ। समितिको बैठक दिउँसो १ बजे बस्नेछ।