काठमाडौं। आगामी चैत २४ देखि अनिवार्य अवकाशमा जाँदै गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने अनिवार्य बिदा बस्दै छन्।
अर्थ मन्त्रालयको सल्लाहकार राष्ट्र बैंकमा नयाँ गभर्नर सिफारिस गर्न समिति गठन हुने आकलन गरिए पनि सोमबार राती अबरेको मन्त्रिपरिषद् बैठकले यसबारे कुनै निर्णय गरेन।
गभर्नर रिक्त हुनु एक महिनाअगावै नियुक्ति गर्नुपर्ने राष्ट्र बैंक ऐनमा उल्लेख भए पनि सरकारले अहिलेसम्म सिफारिस समितिसमेत गठन गरेको छैन।
यसअघिको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्त गर्न सिफारिस समिति गठनका विषयमा छलफल भए पनि औपचारिक निर्णय अहिलेसम्म बाहिर आएको छ।
यद्यपि सत्तारुढ कांग्रेस–एमालेबीच गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र विज्ञ सदस्यमा विश्व पौडेललाई सदस्य राख्ने अनौपचारिक सहमति भइसकेको बताइन्छ। सिफारिस समितिमा अर्थमन्त्री पदेन संयोजक हुने प्रचलन छ।
यसअघिका सरकारबाट पनि ऐनको व्यवस्थालाई बेवास्ता गरिएको थियो। पूर्वगभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएको तीन सातापछि मात्रै तत्कालीन सरकारले हालका गभर्नर अधिकारीलाई नियुक्त गरेको थियो। सोही कारण सरकारले नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति गठनमा हतार नगरेको बुझिएको छ।
लामो खिचातानीबीच काठमाडौं विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले डा. अच्युत वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका छन।् उपकुलपति नियुक्तिमा विवाद र ढिलाइ हुँदा केयू कार्यकारी परिषद्ले समेत पूर्णता पाउन सकेको छैन।
यस्तै, प्रहरी महानिरीक्षक वसन्त कुँवरले उमेरहदका कारण संगठनबाट अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार नै नयाँ आईजीपी दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।
तर, राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस समिति गठनबारे केही निर्णय भएन। गभर्नर अधिकारी चैत १५ मा राष्ट्र बैंक फर्किनेछन् भने पाँचवर्षे कार्यकाल चैत २४ मा सकिँदै छ। २०७६ चैत २४ मा नियुक्ति पाएका उनले चैत २५ देखि राष्ट्र बैंकमा गभर्नरको कार्यभार सम्हालेका थिए।
सरकारी तथा निजी संघसंस्थामा सामान्यतया कार्यकाल सकिनु एक महिनाअघि बिदा बस्ने चलन छ। तर, कार्यकाल समाप्त हुनुअघि एक महिने बिदा भने अनिवार्य होइन।
अधिकारीअघिका केही गभर्नर र अन्य सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल समाप्त हुन एक महिनाअघि बिदा बस्ने गरेका थिए। तर, गभर्नर अधिकारी कार्यकाल सकिनुअघिको एकमहिने बिदाभन्दा राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बस्न लागेको सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए।
गभर्नर अधिकारी चैत २२ देखि राष्ट्र बैंकबाट बिदा हुँदै छन्। कार्यकाल समाप्त हुनु दुई दिनअगावै गभर्नर अधिकारी राष्ट्र बैंकबाट सार्वजनिक बिदाका कारण बिदा हुन लागेका हुन्। चैत २४ गते आइतबार रामनवमी परेको हुँदा उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको छ।