काठमाडौं। वल्र्ड रि–साइक्लिङ डे अवसरमा खालीसिसी र कोका–कोला बेभरेज नेपालले वाउ (वेल बिङ आउट अफ वेस्ट) परियोजनाको एक वर्ष पूरा गरेको घोषणा गरेका छन्।
यो परियोजनाले नेपालमा दिगो विकास, महिला सशक्तीकरण र फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। २०२४ फेब्रुअरीमा सुरु भएको परियोजनाले १,४४,००० केजी पेट बोतललाई ल्यान्डफिलमा जानबाट जोगाएर तिनलाई पुनः उपयोगी स्रोतका रुपमा परिणत गरेको छ।
परियोजनाअन्तर्गत बूढानीलकण्ठमा मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) स्थापना गरिएको छ, जहाँ ट्रान्सफर स्टेसन, फोहोर संकलन केन्द्र, फुटसल ग्राउन्ड, रेस्टुरेन्टलगायत विभिन्न स्रोतबाट ल्याइएका पेट बोतल संकलन गर्ने र छान्ने काम गरिन्छ।
एमआरएफमा बेलिङ मेसिनको क्षमता प्रतिदिन १ टन रहेको छ, जसले पेट बोतललाई बन्डल बनाउँछ र उक्त बोतल नवपरासीस्थित पेट रिसाइकलरमा पठाउने काम गरिन्छ। त्यहाँ बोतललाई फ्लेक्समा परिणत गरिन्छ जसलाई पुनःप्रक्रिया गरी पोलिएस्टर स्टेपल फाइबर जस्ता सामग्रीमा रुपान्तरण गर्ने गरिएको कोकाकोलाले जनाएको छ।
वाउ परियोजना केवल फोहोर व्यवस्थापनको विषय नभएर सामाजिक समानता र दिगोपन यात्राको सहयात्रीसमेत रहेको खालीसिसीका सीईओ अमुन थापाले बताए। यो परियोजना आर्थिक सशक्तीकरणमा केन्द्रित छ, जहाँ ८० प्रतिशत महिला (३५ जना) संलग्न छन्।
यस्तै, ५० जना अनौपचारिक फोहोर संकलनकर्ता (खालीसिसी फ्रेन्डस) लाई गल्ली म्याप्स न्याभिगेसन, डिजिटल साक्षरता, बैंकिङ र सामाजिक सन्जाल प्रयोगबारे तालिम दिएर उनीहरुको आर्थिक आत्मनिर्भरता र जीवनस्तर उकास्ने अवसर उपलब्ध गराइँदै आएको कोका–कोला बेभरेजे नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीले पनि जानकारी दिइन्।