काठमाडौं। काठमाडौं विश्व विद्यालयको चौथो उपकुलपतिमा प्रा.डा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन्। निकै लामो रस्साकस्सीबीच प्रा.डा वाग्लेको काँधमा विश्व विद्यालयको जिम्मेवारी आएको हो। वाग्लेलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नियुक्त गरेका हुन्।
भिसी छनोट समिति संयोजक सुरेशराज शर्मा र सदस्यद्वय डा. अर्जुन कार्की र जनार्दन नेपालबीच तीब्र मदभेद भएपछि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले हस्तक्षेप गरेर वाग्लेलाई भिसी बनाएका हुन्।
प्रधानमन्त्री कार्यालय स्राेतका अनुसार प्रक्रिया नै अनिर्णय बन्दै गएपछि ओलीले नै हस्तक्षेप गरेर सिनेट बैठक डाकेका थिए। सोही बैठकबाट निर्णय गरेर ओलीले वाग्लेलाई भिसी नियुक्त गरेका हुन्।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न विशेष सभा बोलाएका थिए। उपकुलपति खोज तथा सिफारिस समितिले केयूको उपकुलपतिको नाम सिफारिस गर्न सकेको थिएन। समितिले नाम सिफारिस नगरेपछि सिनेट बैठक बोलाएर सोही मार्फत् वाग्लेलाई उपकुलपतिको जिम्मेवारी प्रदान भएको हो।
उपकुलपतिको रुपमा रहेका भोला थापाको कार्यकाल सकिएपछि वाग्लेलाई नै कायममुकायमको जिम्मेवारी दिइएको थियो। काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार रहेका वाग्लेलाई ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका थिए। हाल उनैले उपकुलपतिको जिम्मेवारी पनि प्राप्त गरेकाे प्रधानमन्त्री कार्यालयले बताएकाे छ।
उनी यसअघि काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम)मा एसोसिएट डीन थिए। त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिंघम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका वाग्लेले भारतको कानपुरस्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट अर्थशास्त्रमै विद्यावारिधि गरेका छन्।
ओली उपस्थित सभाले पूर्वउपकुलपति शर्मा संयोजकत्वमा उपकुलपति खोज तथा सिफारिस समिति गठन गरेको थियो। विश्वविद्यालय ऐनमा सभाले समिति गठन गर्ने र सिफारिस गरेबमोजिम कुलपतिले ४ वर्षे कार्यकालका लागि उपकुलपति नियुक्त गरेकाे हाे। त्यसका लागि गठित समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. कार्की र पूर्वसचिव नेपाल सदस्य रहेका थिए।
समिति गठनपछि उपकुलपतिका लागि आवेदन माग भएको थियो। जसमा २० जनाको आवेदन पर्यो। यसपछि, उपकुलपति छनोट समितिले आवेदन दिएका मध्ये २० जनाबाट १० जनाको नाम सर्ट लिष्टको रुपमा सार्वजनिक गर्यो। समितिको सर्ट लिस्टमा परेकाहरूमा प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा रहेका थिए।