काठमाडौं। फागुन महिना गाडी प्रवेशको हिसाबले ऐतिहासिक रह्यो। अटो बजारका लागि सुक्खा मौसमको रुपमा लिइने फागुन महिनामा गाडी प्रवेश र लन्चको लहर नै चल्यो। नेपाली बजारमा एकै महिनामा आठ वटासम्म नयाँ ब्राण्ड भित्रिए। जसले अटो बजार चलायमान भएको संकेत देखाएको छ।
अघिल्ला वर्षको गाडी प्रवेश स्थिति हेर्ने हो भने नाडा अटो शो र चाडपर्वको समयमा मात्रै धेरै ब्राण्डका गाडीको प्रवेश हुने गर्दथ्यो। यीबाहेक अन्य समयमा फाट्टफुट्ट मात्रै गाडी भित्रिने गरेको देखिन्थ्यो।
तर, गएको फागुन महिनामा आठ वटा ब्राण्डले नेपाली बजारमा गाडी भित्र्याएका छन्। एकै महिनामा नेपाली बजारमा सात ब्राण्डका विद्युतीय सवारी (ईभी) भित्रिँदा एक ब्राण्डको इन्धन गाडी भित्रिएको हो।
अधिकांश ब्राण्ड औपचारिक रुपमा सार्वजनिक भइसकेका छन्। हुण्डाई क्रेटा ईभी र बिवाईडी सिलायन सात औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छन्। यसले अटो ब्राण्डहरु बजारमा आफ्नो प्रभुत्व कायम गर्न र प्रयोगकर्ता आकर्षण गर्न तीव्र प्रतिस्पर्धामा रहेको देखाउँछ।
नेपाली बजारमा भारतीय, चिनियाँ तथा अन्य मुलुकका गरी दर्जनौं ब्राण्ड उपलब्ध छन्। चीनबाट मात्र अहिलेसम्म नेपालमा बिवाईडी, सेरेस, ओमोडा, जेक्को, काई, स्काइवेल, वुलिङ, ओरा, निटा, नामी, अवतार, चांगन डिपल, जीएसी एवोन, जिकर, एक्सपेङ, बिएडब्लु ब्रम्बी, हेनरी भोल्ट्स, दायुन, रिडारा आरडी सिक्स, लिपमोटरलगायत करिब २० ईभी ब्राण्डको कार बिक्री वितरण भइरहेको छ।
यति मात्र नभई नेपालमा अन्य देशबाट टाटा, हुण्डाई, एमजी, किया, सिट्रोन, निसान लिफ, महेन्द्रालयातका ब्राण्डहरु आउने गरेका छन्। बजारमा धेरै अटो ब्राण्ड हुँदा नयाँ मोडलको गाडी भित्र्याउने क्रममा पनि उच्च प्रतिस्पर्धा चलेको हो। गाडी भित्र्याउने होडमा अघि बढ्दा एकै महिना आठ वटा ब्राण्ड प्रवेश भएको हो।
टाटा कर्भ ईभी
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा कर्भ ईभी सार्वजनिक गरिसकेको छ। कम्पनीले फागुन १२ गते एकै दिन टाटाको ३ मोडल सार्वजनिक गरेको हो।
सिप्रदीले कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। टाटा कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसमा ९८ किलोवाटको मोटर जडान गरिएको छ। यसले ५०२ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ।
यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको ड्राइभर डिस्प्ले छ। सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ। यसको बुट स्पेस ५०० लिटरको छ। कम्पनीले टाटा कर्भ ईभीको ब्याट्रीमा ८ वर्ष तथा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिइएको छ।
एमजी एस-५
नेपालको लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी एस-५ फागुन २२ मा नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। कम्पनीले दुई ब्याट्री अप्सनमा तीन भेरियन्ट सार्वजनिक गरेको हो। एस-५ मा ४९.९ किलोवाट र ६२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। ४९.१ किलोवाट आवरको ब्याट्री प्याकले ३४० किलोमिटर र ६२.२ किलोवाट आवरको ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
पारामाउन्ट मोटर्सले एमजी एस-५ को मूल्य क्रमशः ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
प्रोटोन इमास
जगदम्बा मोटर्सले प्रोटोन इमास-७ नेपाली बजार ल्याइसकेको छ। कम्पनीले आगामी मार्च २१ बाट गाडीको बिक्री सुरु गर्ने जनाएको छ। इमास-७ प्राइम र प्रिमियम गरी दुई भेरियन्ट उपलब्ध हुने बताएको छ। इमास-७ प्राइममा ४९.५२ किलोवाट आवरको एलएफपी ब्याट्री छ। यसको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री दिइएको छ।
इमास-७ प्राइम भेरियन्टले ३४५ र प्रिमियम भेरियन्टले ४१० किलोमिटरको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरको छ। जगदम्बा मोटर्सले इमास-७ प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
लिपमोटर ०३
नेपालको लागि लिपमोटरको आधिकारिक वितरक सांग्रीला मोटर्सले लिपमोटर ०३ फागुन २० गते सार्वजनिक गर्यो। कम्पनीले लिपमोटर ०३ २८ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो। ०३ मा ३७.३ किलोवाट आवरको ब्याट्री रहेको छ। ७० किलोवाट मोटर पावर भएको गाडीले १५८ टर्क जेनेरेट गर्छ भने अधिकतम ३९५ किमिसम्म रेन्ज दिन्छ। यस गाडीको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ।
एलईभी-०१
एलएस अटोका नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चर प्रालीले एलईभी-०१ फागुन २० गते सार्वजनिक गरेको हो। कम्पनीले एलईभी-०१ स्ट्यान्डर्ड र कम्फर्ट दुई भेरियन्टमा सार्वजनिक गरेको हो। एलईभी-०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यो ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ। एलईभी-०१ मा २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। कम्पनीले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख १५ हजार रुपैयाँ र कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।
निसान म्यागनाइट
निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्यागनाइट फेस्लिफ्ट फागुन ९ मा नेपाली बजारमा सार्वजनिक गरेको हो। कम्पनीले ईभी गाडीलाई टक्कर दिँदै डिजेल/पेट्रोल भर्जनको म्यागनाइट फेस्लिफ्ट सार्वजनिक गरेको हो।
कम्पनीले नयाँ म्याग्नाइट फेसलिफ्टको मूल्य ३४ लाख ७५ हजार रुपैयाँ तोकिएको छ। नयाँ फेसलिफ्ट म्याग्नाइटमा १ लिटर नेचुरल्ली एस्पिरेटेड तथा टर्बो इञ्जिनलाई निरन्तरता दिएको छ। कम्पनीले उक्त इञ्जिनसँग ५ स्पिड म्यानुअल र एएमटी गियरवक्स दिएर ल्याएको छ।
यसमा ३६० सराउन्ड भ्यू क्यामेरा, स्ट्यान्डर्ड भेरियन्टबाटै ६ एयरब्याग पाउन सकिने म्याग्नाइटमा भेहिकल डाइनमिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट र टायर प्रेशर मोनिटरिङ सिस्टम पाउन सकिन्छ।
बिवाईडी सिलायन ७
नेपालको लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले बिवाईडी सिलायन ७ भित्र्याइसकेको छ। साइेमक्स इंकले सिलायन ७ नेपाल भित्र्याए पनि औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन। कम्पनीले सिलायन ७ परीक्षण गरिरहेको जनाएको छ। सिलायन ७ बिवाइडीको ईप्लेटफर्ममा आधारित छ। जसले यसलाई उन्नत प्रविधि र प्रभावकारी परफर्मेन्स प्रदान गर्छ।
सिलायन ७ दुई ब्याट्री अप्सनमा उपलब्ध छ। यसमा ३० किलोवाट र ३८ किलोवाटको ब्याट्री दिइएको छ। यसमा ५५ किलोवाटको मोटर जडान गरिएको छ। यसले भएको ३० किलोवाट ब्याट्रीले ३०० किलोमिटर र ३८ किलोवाटको ब्याट्रीले ४०५ किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ। यसको टप स्पिड १३० किलोमिटर छ।
यसमा डिसी फास्ट चार्जिङले चार्ज गर्द ३० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुनेछ। यसमा १०.१ इन्चको इन्च टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, एआई भ्वाइस असिस्टेन्ट, एयर ब्याग, एड्भान्स ड्राइभर असिस्ट सिस्टम दिइएको छ।
हुण्डाई क्रेटा ईभी
नेपालको लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी परीक्षणका लागि नेपाल भित्र्याइसकेको छ। कम्पनीले नेपाल ल्याइ परीक्षण गरिरहेकाले अब छिट्टै औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ।
हुण्डाई क्रेटा ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ। यसमा ४२ किलोवाटर र ५१.४ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। क्रेटामा भएको ४२ किलोवाटको ब्याट्रीले सिंगल चार्जमा ३९० किलोमिटर र ५१.४ किलोवाटरको ब्याट्रीले ४७० किलोमिटरसम्म रेन्ज दिनेछ। क्रेटा ईभीमा ब्याट्री अप्सन जस्तै मोटर पनि दुई अप्सनमा उपलब्ध छ। यसमा ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर अप्सनमा पाउन सकिन्छ।