काठमाडौं। नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संयोजनमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। ग्लोबल मनी विक २०२५ को पहिलो दिन आज काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले पैसाको महत्व, बचत र सदुपयोग लगायतका विषयमा आमरूपमा जानकारी दिनका लागि गाउँ गाउँमा वित्तीय साक्षरता फैलाउनु आवश्यक रहेको र त्यसका लागि सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए।
उनले ग्लोबल मनी विक २०२५ मनाउने क्रममा नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरूबाट विद्यालयस्तरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू आयोजना गर्ने र विद्युतीय माध्यमबाट पनि वित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारी लगायतका वक्ताहरूको पैसाको महत्व, बचत, सदुपयोग, सही लगानी र ठगी नियन्त्रण लगायतका बारेमा बालबालिका तथा युवालाई सुरूदेखि नै जानकारी दिनुपर्ने बताए। समाजमा हरेकस्तरमा वित्तीय साक्षरता तथा ज्ञान अभिवृद्धिका लागि सम्वद्ध सबै निकायहरूबीच सहकार्यको आवश्यकता समेत रहेको उनीहरूले औंल्याए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका पदाधिकारी तथा कर्मचारीहरूका साथै नेपाल स्टक एक्सचेञ्ज, नेपाल स्टक ब्रोकर्स एसोसिएसनलगायत वित्तीय क्षेत्रका विभिन्न संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।