काठमाडौं। निश्चित मासिक आम्दानी भएका अधिकांशको मुख्य समस्या भनेकै बचत गर्न नसक्नु हो। जति आम्दानी भए पनि खर्च टार्न अपुग हुँदा बचत गरेर लगानीको सपना अधुरै हुने गर्छ। मासिक आम्दानीअनुसारको पारिवारिक बजेट बनाएर व्यवस्थित खर्च गर्न नसकेकै कारण जति आम्दानी भए पनि बचत गर्न नसकिएको हो।
नेपाल राष्ट्र बैंकले यस्तै समस्या समाधान हुने गरी आम्दानीअनुसारको पारिवारिक बजेट बनाएर खर्चिने र बचत गर्ने तरिका सिकाएर उपयुक्त क्षेत्रमा लगानी गर्न उपाय सिकाएको छ। केन्द्रीय बैंकले आजदेखि चैत १० सम्म मनाउन लागेको ग्लोबल मनी विक’ अवसरमा वित्तीय साक्षरताअन्तर्गत आम्दानीअनुसारको खर्च गरी बचत गरी उच्च प्रतिफल प्राप्त हुने क्षेत्रको पहिचान गरी लगानी गर्न सिकाएको हो।
अन्तर्राष्ट्रिय अभियानको रुपमा हरेक वर्ष मनाइने ग्लोबल मनी विकमा राष्ट्र बैंकले बालबालिका र युवालाई वित्तीय साक्षरता दिँदै आएको छ। युवालाई पैसाको महत्त्व बुझाउँदै बचत गर्ने बानी, वित्तीय योजना, लगानी गर्ने र उचित आर्थिक निर्णय सिकाउने काम राष्ट्र बैंकले यस वर्षको ग्लोबल मनी विकमा गरिरहेको छ।
यो वर्ष ग्लोबल मनी विकको अवसर पार्दै वित्तीय साक्षरताः आधारभूत अवधारणा (पुस्तिका) सार्वजनिक गरेको छ। उक्त पुस्तिकामा आफ्ना आवश्यकताको पहिचान गर्दै पारिवारिक बजेट बनाउने, बचत गर्ने, लागानी गर्ने, वित्तीय लक्ष्य निर्धाराण गर्ने तरिका सिकाएको छ।
साथै, उक्त पुस्तिकामा कर्जा, ब्याज, वित्तीय अनुशासन, वित्तीय सेवाप्रदायक, राष्ट्र बैंक, पुँजीबजार, बिमा, सहकारी, कर्जा सूचना केन्द्र, विप्रेषण, विद्युतीय वित्तीय सेवा, विद्युतीय ठगी र गुनासो व्यवस्थापनबारे समेत विस्तृत जानकारी दिइएको छ।
‘पारिवारिक बजेट’
पारिवारिक आम्दानी र खर्चको अनुमानित विवरणलाई पारिवारिक बजेट भनिन्छ। यो। परिवारको आम्दानी र खर्चको व्यवस्थापन गर्ने प्रक्रिया हो। यसले आर्थिक लक्ष्य हासिल गर्न मद्दत गर्छ। पारिवारिक बजेटले आम्दानीका स्रोतहरुको राम्रोसँग लेखाजोखा गर्न र खर्चलाई व्यवस्थित, अनुशासित एवं प्राथमिकताको आधारमा गर्न सहयोग गर्दछ।
पारिवारिक बजेट निर्माण किन?
» परिवारको वित्तीय लक्ष्य निर्धारण गर्न।
» उपलब्ध वित्तीय स्रोतलाई अनुशासित तवरले खर्च गर्न।
» फजुल खर्चलाई नियन्त्रण गरी बचतलाई प्रोत्साहन गर्न।
» उपयुक्त क्षेत्रमा खर्च भए÷नभएको मूल्यांकन गर्न।
» परिवारको आम्दानी र खर्चलाई पारदर्शी बनाउन।
» परिवारको आम्दानी र खर्चको प्रवृत्ति हेर्न।
पारिवारिक बजेट कसरी बनाउने?
» परिवारको वित्तीय लक्ष्य निर्धारण गर्ने।
» आम्दानीका सम्पूर्ण स्रोत यकिन गर्ने।
» खर्चको सूची तयार गर्ने।
» खर्चका शीर्षकलाई वर्गीकरण गर्ने।
» खर्चका क्षेत्रहरु पहिचान गर्दै प्राथमिकता तय गर्ने।
» आयबमोजिम सम्भावित बचतको निक्र्योल गर्ने।

‘बचत’
आफ्नो आम्दानीबाट खर्च कटाएर जोगाएर राखिएको रकम नै बचत हो । भविष्यका विविध आवश्यकतालाई ध्यान दिई सञ्चित गरिएको रकम बचत हो । भविष्यको आवश्यकता, वित्तीय लक्ष्य तथा विभिन्न अनिश्चित प्रकृतिका खर्चलाई ध्यानमा राखेर बचत योजना बनाउनुपर्दछ । बचतले हामीलाई भविष्यमा योजनाअनुसार खर्च गर्न, आफ्ना वित्तीय लक्ष्य पूरा गर्न र आकस्मिक रुपमा आइपर्ने खर्चको सामना गर्न सक्षम बनाउनुका साथै सुरक्षित महसुस गराउँदछ।
आवश्यकता र चाहनाको फरक बुझेर आफ्नो आय स्रोतबाट प्राप्त रकमबाट अत्यावश्यक खर्च, योजनाअनुसारका अन्य खर्च, कर्जा लिएको भए सोको किस्ता तिर्न, लगानी गर्न आयको प्रयोग गरी भविष्यका विविध आवश्यकतालाई दृष्टिगत गरी बचत गरियो भने सीमित स्रोतबाट अत्यधिक लाभ लिन र वित्तीय आवश्यकताहरु सहज तरिकाले पूर्ति गर्न सकिन्छ।
बचतका फाइदा बचतले जीविकोपार्जन, बालबच्चाको शिक्षा, मनोरञ्जन, विवाह व्रतबन्ध, मृत्यु संस्कार जस्ता सामाजिक कार्य, स्वास्थ्य उपचार, वृद्धावस्थामा हुने खर्च मात्र नभई लगानी गर्न, व्यवसाय विस्तार गर्न, आफ्ना वित्तीय लक्ष्य र सामान, सेवा वा सुविधामा खर्च गर्ने आफ्ना सपना पूरा गर्न मद्दत गर्दछ। यसका अलावा भविष्यमा आइपर्ने आकस्मिक खर्च टार्नसमेत यसले सजिलो बनाउँछ।
आम्दानीको सही व्यवस्थापन गरी नियमित बचत गरियो भने आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ। जीविकोपार्जन सहज र सुविधायुक्त हुनुका साथै कुनै समयमा रोजगारी गुम्यो, स्वास्थ्यमा कुनै ठूलो समस्या आयो, कुनै दुर्घटना भयो, आम्दानीको स्रोत निरन्तर हुन सकेन, अनिकाल पर्याे वा प्राकृतिक विपत्ति आइपर्याे भने पनि पहिले गरेको बचतको उपयोग गर्न सकिन्छ।
बचतका उपाय धेरै आम्दानी भएकाले मात्र बचत गर्ने हो वा बचत गर्न सक्दछन् भन्ने गलत धारणा अधिकांशमा रहेको पाइन्छ। तल उल्लिखित उपाय अवलम्बन गरी बचत गर्न सकिन्छ तर यसका लागि दृढ इच्छा र स्वअनुशासनले ठूलो भूमिका खेल्छ।
» मानिसका चाहना असीमित हुने हुँदा आवश्यकतालाई विचार गरी अत्यावश्यक वस्तु वा सेवामा मात्र खर्च गर्ने बानी बसाल्ने।
» आफ्नो कमाइको केही हिस्सा नियमित बचत गरी बाँकी रकमबाट आवश्यकता पूरा गर्ने योजना बनाउने।
» इच्छा गरेको वस्तु वा सेवा महँगो भए त्यस्तोमा अहिले खर्च नगरी खर्च कटौती गर्ने।
» इच्छा गरेको वस्तु महँगो भए एकपटक प्रयोगमा आइसकेको वस्तु किनी खर्च कम गर्न सकिने।
» दैनिक गुजाराका उपभोग्य वस्तु तथा सेवा सुपथ मूल्यमा पाइने स्थानबाट खरिद गर्ने।
» बाहिरका महँगा खानाभन्दा घरमै बनाएर खाने।
» बालबालिकामा सानै उमेरदेखि बचत गर्ने र खुत्रुके प्रयोग गर्ने बानी बसाउने।
» लत्ताकपडा र गरगहनामा आवश्यकताअनुसार मात्र खर्च गर्ने।
‘लगानी’
आम्दानी वा कुनै प्रतिफल प्राप्त गर्ने उद्देश्यले वित्तीय स्रोत खर्च गरी कुनै पनि किसिमको सम्पत्ति किनिन्छ भने त्यसलाई लगानी भनिन्छ। उदाहरणका लागि, कृषकले खेतबारीमा प्रयोग गर्ने उद्देश्यले ट्रयाक्टर खरिद गर्दछ भने त्यो उसले गरेको लगानी हो। ट्रयाक्टरको प्रयोगबाट उसले छोटो समयमा आफैं खेत जोत्न सक्ने भयो । यसबाट उसको लागत कम हुन्छ र आम्दानी वृद्धि हुन्छ।
वैदेशिक रोजगारीमा रहेका कामदारले बचतपत्र खरिद गर्याे भने त्यो बचतपत्र उसका लागि लगानी भयो। निश्चित समयमा प्राप्त हुने ब्याज नै उसका लागि प्रतिफल भयो।
त्यस्तै, कसैले कुनै कम्पनीको सेयर किन्छ भने त्यो सेयर स्वामित्व नै उसको लगानी भयो। यसबाट उसले प्रतिफलको रुपमा कम्पनीको नाफाको आधारमा लाभांश प्राप्त गर्न सक्दछ । यसरी आम्दानी वा प्रतिफलका लागि सम्पत्ति सृजना गर्न गरिने खर्च नै लगानी हो।
लगानी र प्रतिफलको विषयमा कुरा गर्दा जोखिमको अवधारणा बुभ्mनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। जोखिम शब्दले अपेक्षित परिणामबाट हुन सक्ने विचलन वा अनिश्चिततालाई बुझाउँछ। कुनै पनि लगानी गर्दा प्रतिफल वा त्यसबाट हुने आम्दानीको अपेक्षा वा आँकलन मात्र गर्न सकिन्छ, निश्चित रुपमा यति नै हुन्छ भनेर यकिनका साथ भन्न सकिँदैन।
यसरी अपेक्षित परिणाम प्राप्त नहुने सम्भावना नै जोखिम हो । जुनसुकै लगानीमा कुनै न कुनै जोखिम हुन्छ। लगानीले वित्तीय स्रातको परिचालन गर्दछ। निष्कृय रुपमा रहेको रकमबाट कुनै प्रतिफल प्राप्त हँुदैन। पैसा आफैं बढ्दैन। यसको मूल्य समयको अन्तरालसँगै मुद्रास्फीति वा मूल्यवृद्धिका कारण घटिरहेको हुन्छ।
उदाहरणका लागि, २० वर्ष पहिले सय रुपैयाँले खरिद गर्न सकिने सामान अहिले सो मूल्यमा पक्कै आउँदैन। लगानी प्रतिफलले पैसाको घट्दो मूल्यबाट हुने घाटा पूर्ति गर्ने मात्र नभई थप आयआर्जन गर्न सघाउ पुग्छ।
तर, पूर्ण जानकारी हासिल नगरी, भविष्यको आम्दानी वा घाटाका सम्भावनाबारे नबुझी लहैलहैमा लागेर गरिएका लगानीले प्रतिफल नदिने मात्र होइन, लगानी गरेको मूल धन नै डुब्न सक्छ। बजारमा धेरै किसिमका लगानीका विकल्प उपलब्ध हुन्छन्।
तीमध्ये आफ्नो वित्तीय लक्ष्य, खर्चका प्राथमिकता, लगानीका विभिन्न विकल्प सम्बन्धित ज्ञान, जोखिम बहन गर्न सक्ने क्षमता, अपेक्षित प्रतिफल आदिका आधारमा उपयुक्त विकल्प छनोट गर्नुपर्दछ। बैंक वित्तीय संस्थाको मुद्दती निक्षेप, ऋणपत्र, बचतपत्र, सेयर, म्युचुअल फन्ड, रियलस्टेट (घरजग्गा), व्यापार व्यवसाय, स्वराजगारसम्बन्धी उद्यम आदि सबै लगानी विकल्प हैन।
लगानी निर्णय गर्दा निम्न विषयमा प्रष्ट हुनुपर्छः
१. लगानीको उद्देश्य र वित्तीय लक्ष्यको तादात्म्य।
२. लगानी गर्न आवश्यक रकम र आफ्नो बचत तथा भावी वित्तीय दायित्व वा खर्चको सन्तुलन।
३. लगानीमा हुने जोखिम र आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता (लगानीबाट कुनै प्रतिफल प्राप्त नभए वा लगानी डुबे आफ्नो आर्थिक अवस्था के हुन्छ)।
४. लगानीबाट अपेक्षित प्रतिफल र सो प्राप्त हुन लाग्ने समय।
५. लगानी गरेको सम्पूर्ण रकम फिर्ता हुन लाग्ने अवधि।
६. विद्यमान नियम, कानुन र करसम्बन्धी प्रचलित व्यवस्था।
७. लगानी विविधीकरणका उपाय (आफूसँग भएको सबै बचत वा सबै वित्तीय स्रोत एकै उपकरण वा विकल्पमा लगानी गर्नुहुँदैन, विविधीकरण गर्नुपर्दछ। यसले जोखिम न्यूनीकरण गर्न मद्दत पुग्दछ।)
८. जुन क्षेत्रमा लगानी गर्न लागिएको हो त्यस क्षेत्रसम्बन्धी विस्तृत ज्ञान हुनुपर्छ।