काठमाडौं। दुई वर्षअघि ग्राउन्डेड गुण एयरलाइन्सले नियमित उडानमा फर्किने तयारी थालेको छ। पाँच वटा जेटस्ट्रिम र दुईटा बिचक्राफ्ट जहाज रहेको गुणले नियमित उडानका लागि आवश्यक तयारी थालेको हो।
गुण एयरलाइन्सका एकाउन्टेबल म्यानेजर योगराज कँडेलले नियमित उडान गर्ने योजनासाथ जहाज मर्मत सुरु थालिएको बताए। ‘करिब एक साता अघिदेखि जहाज मर्मतसम्भार सुरु गरेका छौं,’ एकाउन्टेबल म्यानेजर कँडेलले भने, ‘सबै जहाज एकपटक चेकजाँचपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमा नियमित उडानका लागि अनुमति लिन्छौं।’
जहाज पूर्ण रुपमा तयार भएपछि प्राधिकरणले उडान अनुमति दिने/नदिने निर्णय गर्नेछ। अहिले गुणको उडान अनुमतिसमेत रोकिएको छ। कम्पनीले जहाज मर्मतसम्भार र सञ्चालन खर्च बढी भएकाले बिक्री गरेर नयाँ ल्याउने योजनासहित २०७९ फागुनदेखि सातवटै जहाज एकैसाथ ग्राउन्डेड गरेको थियो। जहाज बिक्री तयारी गरे पनि हुन नसकेपछि अन्ततः सोही जहाजबाटै पुनः उडान भर्ने तयारी गुणले गरेको हो।
गुण ग्रुपद्वारा सञ्चालनमा रहेको गुण एयरलाइन्समा यसअघि जेटस्ट्रिम बेचेर एटिआर जहाज ल्याउने तयारीसमेत थालिएको थियो। तर, भएकै जहाज बिक्री नभएपछि सञ्चालक तत्कालका लागि ब्याक भएका छन्। यद्यपि, जहाज मर्मत गरेर पूर्ण तयार बनाएपछि किन्नेहरू आए बेचिहाल्ने र नभए उडान गर्ने योजना बनाएको कम्पनीले बताएको छ।
जेटस्ट्रिम जहाज उडाउन नदिने तयारीमा प्राधिकरण
नियमित उडानमा फर्किने तयारी गरेर जहाज मर्मतसमेत सुरु गरिरहेको गुण एयरलाइन्सलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जेटस्ट्रिम जहाजको विकल्प खोज्न दबाब दिइरहेको छ।
प्राधिकरण स्रोतका अनुसार मुलुकमा ‘फेलर’ भइसकेको जेटस्ट्रिम सञ्चालन गरेर सञ्चालन खर्चसमेत उठाउन नसक्ने भन्दै पुनः आर्थिक संकटमा पर्नुभन्दा अहिले नै विकल्प खोजेर अन्य जहाज चलाउन सुझाव दिइरहेको छ।
‘हाम्रो नियत जहाज उडानमा रोक लगाउनु हैन’, प्राधिकरण श्रोतले भन्यो, ‘जहाज सञ्चालनपछि पुनः अलपत्र पर्नुभन्दा बेलैमा ध्यान दिएर अर्को विकल्पमा जान भनिएको हो।’ प्राधिकरणको नजरमा सबै एयरलाइन्स समान हुने भएकाले कुनै पनि जहाज रोकिनुहुन्न भन्ने उद्देश्य राखिएको प्राधिकरण एक उच्च अधिकारीको भनाइ छ।
एटिआरसहित ठूला जहाजको दबदबा रहेको आन्तरिक उडानमा साना जहाज सञ्चालन गरेर प्रतिस्पर्धै गर्न नसक्ने दाबी प्राधिकरणको छ। सोही कारण पुनः एयरलाइन्समा समस्या आउने र समस्या उत्पन्न हुनुभन्दा अहिले नै सचेत गराइएको प्राधिकरणको दाबी छ।
यता, गुण एयरलाइन्स सञ्चालकले पनि सकेसम्म हालकै जहाज बेचेर एटिआर वा अन्य जहाज खरिद गर्ने योजना बनाएका छन्। यद्यपि गुण ग्रुपले यस विषयमा हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।