काठमाडौं। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजदेखि सेवानिवृत्त भएका छन्। २०७९ चैत १० गते आईजीपी नियुक्त कुँवर ३० वर्षे सेवावधि पूरा गरेर अवकाशमा गएका हुन्।
कुँवर सेवानिवृत्त भएसँगै प्रहरीमा नयाँ आईजीपी को बन्ला भनेर चर्चा चुलिएको छ।
राजनीतिले थिलो परेको प्रहरी संगठनमा जुन पार्टीको सरकार हुन्छ, उसकै रोजाइको आईजीपी नियुक्त गर्ने चलन छ। आईजीपी नियुक्तिमा वरीयताभन्दा पनि भनुसन र आर्थिक चलखेलसमेत हुने गरेको गाइँगुइँ सुनिँदै आएको छ।
कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि एकैसाथ अवकाशमा गएका छन् । उनीहरूकै ब्याचमेट डीआईजी गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजैदेखि अवकाशमा जाँदै छन्।
टेकप्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए। सो ब्याचका श्यामलाल ज्ञवाली र किरण वज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन्।
कुँवरलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले वरीयताको आधारमा आईजीपी नियुक्त गरेको थियो। त्यतिबेला वरीयता मिचिएको थिएन।
नयाँ प्रहरी ऐन आउन ढिला हुने र ३० वर्षे नहट्ने भएसँगै आईजीपी कुँवरलाई आजै प्रहरी प्रधान कार्यालयबाट बिदाइ कार्यक्रम राखिएको छ।
सम्भवतः आईजीपी नियुक्तिबारे निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्नेछ। प्रहरीको ३१औं आईजीपी बन्न अतिरिक्त महानिरीक्षकत्रय प्रतिस्पर्धामा छन्। दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीका प्रतिस्पर्धी हुन्।
वरीयता सूचीअनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन्। वरीयता नमिचिए नयाँ प्रहरीको हाकिम बन्ने लाइनमा छन्, थापा।