काठमाडौं। राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा अवरोधै अवरोध सामना गरिरहेको छ।
विभिन्न राजनीतिक दलमा आबद्ध स्थानीयले कहिले मुआब्जा, कहिले क्षतिपूर्ति, कहिले शिक्षा, स्वास्थ्य त कहिले रोजगारी माग गर्दै आयोजना निर्माणलाई अवरोध गरिरहेका हुन्।
अचम्म के भने सत्तारुढ दलकै स्थानीय सरकारका वडाध्यक्षले समेत आफ्नो घर चर्किएको भन्दै आयोजनासँग मोलमोलाइ गर्दै निर्माण ठप्प पार्छन्।
आयोजनाले स्थानीयका माग पूरा गर्नासाथ निर्माण सुरु हुन्छ। तर, सुरु भएको केही साता, दिनमै पुनः अर्को समूह जन्माएर आयोजनासँग विभिन्न माग राख्ने क्रम जारी छ।
स्थानीयको पटक–पटकको अवरोध हुँदा आयोजना निर्माणले गति लिन सकेको छैन। स्थानीयले आफ्ना माग पूरा नगरेसम्म काम गर्न नदिने अडान लिएका हुन्छन्।
सुरुङमार्ग निर्माण थालिएपछि स्थानीय जनताका माग भन्दै विभिन्न राजनीतिक दलमा आबद्ध समूहले हालसम्म ६ पटक काम ठप्प पारेको छ। निर्माण ठप्प पारेसँगै विभिन्न माग पूरा गर्ने नाममा आयोजनाले करोडौं रुपैयाँ क्षतिपूर्ति दिइसकेको छ।
२०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८६ प्रतिशत भौतिक प्रगति भइसेकको छ। निर्माणमा गतिरोध नआए २०८२ असोजभित्र नागढुंगा–सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी आयोजनाको छ।
तर, पटक–पटक काममा अवरोध हुँदा तोकिएको समय पछि धलेलिने सम्भावना रहेको नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थी बताउँछन्।
मुख्य सुरुङको दूरी २ हजार ६८८ मिटर र आपतकालीन सुरुङको दूरी २ हजार ५५७ मिटर छ । अहिले सुरुङभित्र लाइटिङ, क्रंक्रिट सडक निर्माण र बलम्बुको किसिपिडीमा फ्लाईओभर निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
आयोजनामा फेरि आइतबारदेखि खानेपानीलगायतका माग राखेर चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले निर्माणको काममा अवरोध गरेका छन्।
सोही कारण काठमाडौं र धादिङ दुवैतर्फ काम ठप्प रहेको आयोजनाले जनाएको छ। सुरुङमार्गको मुखै अगाडि स्थानीयले विभिन्न मागसहितको ब्यानर टाँसेका छन्।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्थीका अनुसार काम रोकिएको र स्थानीयसँग छलफल गरेर समाधानको उपाय निकाले प्रयास भइरहेको छ।
यसअघि गत फागुन १८ मा धादिङतर्फका स्थानीयले काममा अवरोध गरेका थिए। उनीहरुसँग सम्झौता भएपछि निर्माण थालिए पनि फेरि अवरोध भएको हो।
विभिन्न माग राखेर आयोजना निर्माणमा अवरोध गर्दा एक दिनमै ५० लाख बढी घाटा हुने गरेको निर्माण कम्पनीले जनाएको छ।
