काठमाडौं। विगत ९ महिनादेखि नेपाल एयरलाइन्सको आन्तरिक उडान अनिश्चित बनिरहेको छ। दुई वटा टुइनअटर जहाजमार्फत आन्तरिक उडान गरिरहेको एयरलाइन्सको एउटा जहाज ९ महिनादेखि र अर्को जहाज ३ महिनादेखि ग्राउन्डेड छ। जसको कारण एक मात्र सरकारी एयरलाइन्सको आन्तरिक उडान ठप्प छ।
नेपाल एयरलाइन्सको मुख्य तालुकदार मन्त्रालय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे भने आन्तरिक उडान ठप्प भएको विषयमा कुनै चासो नदिई विदेश घुमघाममा व्यस्त रहँदै आएका छन्।
नेपाल एयरलाइन्सको आन्तरिक उडान मात्र हैन अन्तर्राष्ट्रिय उडान पनि अस्तव्यस्त भैरहेको छ। तर, यस विषयमा पर्यटनमन्त्री पाण्डेको मौनता प्रति धेरैले प्रश्न उठाइरहदा पनि उनले कुनै जवाफ दिएका पनि छैनन र कुनै एक्सन पनि लिएका छैनन्।
आन्तरिक उडान ठप्प हुँदा एक पटक पनि मन्त्रालयबाट एयरलाइन्सलाई प्रश्न नसोधिएको मन्त्रालय श्रोतको दाबी छ। मन्त्रालयका एक अधिकारीका अनुसार कर्मचारीले बेला-बेलामा मन्त्री पाण्डेलाई जानकारी गराउँदा पनि बेवास्था गरेकाले आज भोलि खबर गर्न छोडेका छन्।
नियुक्तिलगत्तै नेपाल एयरलाइन्स सञ्चालनसम्बन्धी आक्रामक भाषण गर्दै आएका मन्त्री पाण्डे एकाएक किन मौन रहे भन्ने विषयमा उनको सचिवालयलाई बुझ्न खोज्दा फोन सम्पर्कमा आउन चाहेनन्। मन्त्रीका स्वकीय तालबहादर रावतलाई सम्पर्क गर्दा उनको फोन उठेन।
जर्मनपछि पुगे थाइल्याण्ड
एक साताअघिसम्म जर्मन भ्रमणमा रहेका पर्यटन मन्त्री पाण्डे अहिले थाइल्याण्डमा छन्। गैरआवासीय नेपाली संघको एक कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। जबकी त्यहाँ उनको कुनै भूमिका छैन।
पर्यटन क्षेत्रबाहेकको अन्य कार्यक्रममै घुमघाममा रमाएकाले नेपाल एयरलाइन्सको उडान अस्तव्यस्त भइरहेको जनाएको छ। नेपाल पर्यटन बोर्डको कार्यक्रममा जर्मन पुगेका मन्त्री पाण्डे हाल थाइल्याण्डको भ्रमणमा रहेका छन्। र, थाइल्याण्डबाट सोमबार एनआरएनकै अर्को कार्यक्रमका लागि कम्बोडिया जाने छन्।
दिँदैन चासो, कार्यक्रम उद्घाटनमा रमाउँछन्
पर्यटन मन्त्री पाण्डे नेपालमा रहँदा पनि नेपाल एयरलाइन्सको उडानसम्बन्धी कुनै चासो देखाउने गरेको पाइएको छैन। सपथलगत्तै उनले मन्त्रालयसँग सम्बन्धित ठूला कार्यक्रमबाहेक अन्य साना कार्यक्रममा सहभागी नजाउने प्रतिबद्धता जनाएका थिए।
तर, आफैले गरेको प्रतिबद्धलाई लत्याउँदै अहिले भ्याएसम्मको कार्यक्रममा रिबन काट्न पुग्ने गरेका छन्। केही समयअघि उनी सप्तरी विमानस्थलमा आन्तरिक उडानको उद्घाटनको रिवन काट्नेदेखि विभिन्न साना कार्यक्रममा गएर आफ्नो समय बिताइरहेका छन्।
ट्वीअनटरको इन्जिन आयो, उडानको मिति आएन
ग्राउन्डेड रहेको ट्वीनअटर जहाजको इन्जिन आए पनि कहिलेबाट नियमित उडान गर्ने भन्ने टुंगो लगाइसकेको छैन। एयरलाइन्सका प्राविधिक तर्फबाट प्रवक्ता मनोजकुमार शाहले अबको केही दिनभित्रै एउटा जहाजले नियमित उडान सुरु गर्ने जानकारी दिए।
‘एयरलाइन्सको तर्फबाट गर्नुपर्ने जहाज मर्मतको काम सकिसकेको छ,’ प्रवक्ता शाहले भने, ‘अब नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका दिएपछि अगाडि बढ्छौँ।’
प्राधिकरणले जहाज मर्मतपछि जहाजको अवस्था ठिक छ वा छैन भनेर अध्ययन गर्ने र उडान तालिका स्वीकृत गर्ने गर्छ। यता प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आइतबारसम्म एयरलाइन्सले जहाज उडानका लागि कुनै पत्र नपठाएको जानकारी दिए। ‘आजसम्म कुनै पत्र आएको छैन,’ उनले भने, ‘सोमबार आउँछ कि।’
न्यारोबडी जहाज २ सातामै ४ पटक बिग्रियो
चीनमा करोडौँ रकम खर्चेर मर्मत गरी ल्याएको न्यारोवडी जहाज ३२० काठमाडौं ल्याएको २ सातामै ४ पटक बिग्रिसकेको छ। पटक-पटक जहाज बिग्रिँदा यात्रुहरूलाई एयरलाइन्सकै खर्चमा होटलमा राख्नु परेको थियो।
एकातिर जहाज नियमित उडान नहुने र अर्कोतर्फ यात्रुलाई होटलमा राख्दा लाखौँ रुपैयाँ खर्चिंदासमेत पर्यटन मन्त्रालय मौन रहेको देखिन्छ। यो विषयमा उनको सचिवालयले कुनै प्रतिक्रिया दिएको छैन।