काठमाडौं। जर्मनीमा मुख्यालय रहेको लुफ्थान्सा ग्रुपले नेपालको अग्रणी जिएसए प्रतिनिधि कम्पनी (रेप्रिजेन्टेसन पाटर्नर) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई आधिकारिक रुपमा आफ्नो अफलाइन जिएसए बनाएको छ।लुफ्थान्साले आफ्नो ग्रुपको ३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरु-लुफ्थान्सा एयरलाइन्स, स्विस इन्टरनेशनल एयरलाइन्स र अस्ट्रियन एयरलाइन्सको नेपाल जिएसएको रुपमा सोसाइटी इन्टरनेशनललाई नियुक्त गरेको हो।
सम्झौता अनुसार सोसाइटी इन्टरनेशनलले नेपालमा लुफ्थान्सा ग्रुपको लागि अभिन्न र रणनीतिक साझेदारको रूपमा काम गर्ने कम्पनीले बताएको छ। नवीनतम प्रविधिमा आधारित समाधानमार्फत बिक्री तथा मार्केटिङ रणनीतिलाई सशक्त रूपमा सहयोग पु¥याउने जनाइएको छ। यस्तै देशभर बजार पहुँच विस्तार गर्दै अफलाइन वितरण प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ।
लुफ्थान्सा ग्रुप भारतको जेनेरल सेल्स म्यानेजर संगिता शर्माले उक्त कम्पनीलाई आफ्नो नयाँ जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेकोमा उत्साहित भएकी छन्। दक्षिण एसियाली बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउन र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सोसाइटी इन्टरनेशनलसँगको साझेदारीपछि लुफ्थान्साको पहुँच विस्तार र ग्राहकलाई अझ राम्रो सेवा दिन सहयोग पुग्ने बताएकी छन्।
यस्तै, आरआर ग्रुप अफ कम्पनीअन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रबी चन्द्र सिंहले लुफ्थान्सा ग्रुपको नेपालस्थित अफलाइन जीएसए नियुक्त हुन पाउँदा विशेष गौरवान्वित तथा सम्मानित महसूस गरेको बताए।
उनले भने, “हाम्रो नियुक्ति सोसाइटी इन्टरनेशनल ट्राभलको स्थानीय विज्ञता र सञ्जालको विशेष पहिचानसँगै अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्यासमार्फत हाम्रा साझेदार एयरलाइन्सहरूको अन्तर्राष्ट्रिय बजार हिस्सालाई विस्तार गर्ने प्रतिबद्धताको प्रमाण हो।”
लुफ्थान्सा ग्रुपको समृद्ध इतिहास र विश्वव्यापी सञ्जाललाई स्मरण गर्दै उनले व्यावसायिक, व्यक्तिगत र यात्रुहरूलाई सहज र आरामदायी सेवा दिने प्रतिबद्धता जनाएका छन्।