काठमाडौं। समग्र माहोल अनुकुल रहेकाले सेयर बजार पटक-पटक उकालो लाग्ने पर्यत्न गर्दै फर्कंदै गरिरहेको छ। न्यून ब्याजदर, फालाफाल तरलता र सहज नीतिका कारण सेयर बजार माथिल्लो विन्दुतर्फ पटक-पटक लम्किए पनि छोटो समयमा नै फेरि फर्केर न्यून विन्दुतर्फ नै सीमित हुने स्थिति देखिरहेको छ। बजारले केही दिन राम्रै लय पक्रिए पनि लगानीकर्ताको कमजोर मनोबल र अस्वस्थ लगानी प्रवृत्तिले सूचक दरिलो बन्न सकेको छैन।
खासगरी, निश्चित् व्यक्ति तथा समूह मिलेर कुनै कम्पनीको सेयर मूल्य उचाल्ने र छोटो समयमा ठूलो गिरावट गराउने प्रवृत्तिले बजार अस्वस्थ बनाएको छ। प्रतिकित्ता २६०० रुपैयाँभन्दा माथि पुगेको नेपाल फाइनान्सको सेयर मूल्य हाल ७०० हाराहारी छ।
प्रतिकित्ता १५०० पुगेको गुर्खाज फाइनान्सको मूल्य हाल ६०० रुपैयाँ, १४०० नजिक पुगेको गुडवील फाइनान्सको ७०० रुपैयाँ, ११०० नजिक पुगेको जानकी फाइनान्सको ५०० रुपैयाँ छ।
प्रतिकित्ता १६०० माथि पुगेको सप्तकोशी विकास बैंकको मूल्य हाल १२०० रुपैयाँ, १५०० पुगेको सिन्धु विकास बैंकको ११०० रुपैयाँ, ८१८ पुगेको पोखरा फाइनान्सको ४५३ रुपैयाँ, २८४२ रुपैयाँ पुगेको कर्पोरेट विकास बैंकको १९०० रुपैयाँ र ११०० माथि पुगेको समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य हाल ५०० रुपैयाँ छ।
यद्यपि, यी केही प्रतिनिधि कम्पनी मात्रै हुन्। बजारमा अस्वभाविक ढंगमा उतारचढाव भएका कम्पनीको सूची अझै धेरै छ भने थपिनेक्रम जारी छ।
सेयर लगानीकर्ता छोटेलाल रौनियार राम्रो भन्दा पनि कमजोर कम्पनीमाथि खेल्ने प्रवृत्तिले बजार सबल बन्न नसकेको बताउँछन्। ‘अहिले राम्रो कम्पनी भन्दा पनि नराम्रो कम्पनी उचाल्ने र छोटो समयमा नै पछार्ने काम भइरहेको छ। यसले सुधारोन्मुख बजारलाई दिगो हुन दिएको छैन,’ रौनियार भन्छन्, ‘एउटा ग्रुप लागेर कुनैलाई बढाउने र घटाउने काम गरेर बजार राम्रो हुँदैन। यो एक किसिमको विकृति नै हो।’
उनले बलिया कम्पनीहरुमा लगानीकर्ता आकर्षित नहुने र कमजोर कम्पनीमा मात्रै खेल्ने प्रवृत्तिले लगानीकर्ताको मनोबल दरिलो बन्न नसकेको बताए। फागुन १ गते २६७८.४७ विन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ कारोबार दिन लगातार बढ्दा २१२ अंकको वृद्धिका साथ फागुन १८ मा २८९० विन्दुसम्म पुगेको थियो। त्यसपछि, नेप्से फेरि ७ कारोबार दिन लगातार घट्दै १७१ अंकले संकुचित बन्यो।
सात दिनको गिरावटपछि भने गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से बढेर बन्द भएको छ। बिहीबार नेप्से १७ अंकले बढे पनि समग्रमा गत सात सेयर बजारमा ८२ अंकको गिरावट आयो।
फागुन २२ गते २८१८ बिन्दुमा रहेको नेप्से गत साताको चार कारोबारमा एक दिन उकालो लागेर तीन दिन घट्दा ८२ अंकको गिरावटका साथ २७३६ विन्दुमा सीमित भएको हो। अघिल्लो साता पनि नेप्सेमा तीन अंकको गिरावट आएको थियो।
फागुन १५ मा २८१५ बिन्दुमा रहेको नेप्से तीन अंकले घट्दै फागुन २२ गते २८१८ बिन्दुमा सीमित भएको थियो। गत साताको चार कारोबार दिनमा नेप्सेमा कुल ३३ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो साता भने नेप्सेमा पाँच कारोबार दिनमा ६१ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। सात कारोबार दिन लगातार घटेर बिहीबार बढेकाले अब बजारले बढ्ने संकेत देखाएको छ।
नौ कारोबारको दिनको उल्लासमय वृद्धिपछि करेक्सन पनि पर्याप्त मात्रामा भएकाले नेप्से उकालो लाग्ने आँकलन लगानीकर्ताको छ। यद्यपि, नेपाली सेयर बजार राजनीतिक घटनाक्रमसँगै निकै हलचल हुने भएको बीचमा केही भएको खण्डमा बजारले अनपेक्षित गति पनि समाउन सक्दछ। यसका अलावा बजारमा ठूलो अंकको गिरावट आएकाले लगानीकर्ताको मनोबल कमजोर स्थितिमा छ। यो स्थिति कायम रहे बजार उकालो लाग्न अवरोधन सिर्जना हुनेछ।
सेयर लगानीकर्ताहरुले हालको वित्तीय सूचक सेयर बजारको पक्षमा भएको तर्क गर्दै आएका छन्। सेयर बजारसँग महत्वकासाथ जोडेर हेरिने विदेशी मुद्रा सञ्चिति राम्रो छ, रेमिट्यान्सको वृद्धिदर सकारात्मक छ भने ब्याजदर न्यून र तरलता पर्याप्त छ। यसले बजारमा जुनसुकै समयमा ठूलो वृद्धि ल्याउन सक्ने आँकलनहरु पनि भइरहेका छन्। कतिपय समयमा बजारले सोही किसिमको छाँटकाँट पनि देखाउँदै आएको छ।
‘सबै वित्तीय सूचक बजारको पक्षमा छन्। समग्र स्थिति हेर्दा बजार निकै माथिल्लो बिन्दुमा पुग्नुपर्ने हो। तर, बजार सरासर बढ्न मानिरहेको छैन,’ रौनियार भन्छन्, ‘बजारलाई सकारात्मक मुभमेन्ट मिलेको खण्डमा र राम्रो नीति आएको खण्डमा हामीले निकै फरक स्थिति देख्न सक्छौँ।’ उनले अहिले सबैले नियालिरहेको गभर्नर नियुक्तीका लागि पनि समिति बनिसकेकाले यसपछि बजारले गति समाउन सक्ने सम्भावना रहेको बताए।
गत साता सूचकमा उच्च गिरावट आउँदा सबै समूहको सेयर मूल्य घटेको थियो। गत साता बैंकिङ इन्डेक्समा १.९० प्रतिशत, विकास बैंकमा ०.८७ प्रतिशत, फाइनान्समा ४.०६ प्रतिशत, जलविद्युत् इन्डेक्समा ३.४५ प्रतिशत र जीवन बिमा इन्डेक्समा २.८० प्रतिशतको गिरावट आयो। लघुवित्त इन्डेक्स ३.३६ प्रतिशत, होटल तथा पर्यटन इन्डेक्स २.३१ प्रतिशत, उत्पादन समूहको इन्डेक्स ४.३३ प्रतिशत र लगानी समूहको इन्डेक्स ४.३८ प्रतिशतले घटेको छ।