काठमाडौं। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण थालिएपछि असन्तुष्ट समूहबाट भइरहेको अवरोध हटाउन गृह मन्त्रालयले स्थानीय प्रतिनिधिलाई वार्ताका लागि पत्र काटेको छ।
पाथीभरा केबलकार निर्माणमा देखिएका समस्या र असन्तुष्ट पक्षले राखेका माग समाधानका लागि विभिन्न पक्षसँग छलफल चरिहेका बेला गृह मन्त्रालयले स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएको हो। वार्ता टोली संयोजक प्रेमप्रसाद भट्टराईले आज पत्र पठाएर स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएका हुन्।
पत्रमा भनिएको छ, ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबिच माघ २२ देखि निरन्तर वार्ता एवं संवाद भइरहेको छ। यसै सन्दर्भमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागका सम्बन्धमा स्थानीय सरोकारवालासँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिलाई आमन्त्रण गर्दछु।’

यसअघि सरकारले माघ २१ मा पाथीभरामा केबलकार निर्माण विवाद समाधान गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
पाथीभर केबलकार निर्माणमा उत्पन्न विवादको निकास खोज्न र वार्ताबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेको वार्ता टोली गठन गरिएको हो।
उक्त टोलीले असन्तुष्ट पक्षसँग वार्ता गरेपछि पाथीभर केबलकार निर्माण हाललाई स्थगित छ।
गत माघ १२ मा ‘नो केबलकार’ समूहले केबलकार निर्माणमा अवरोध गरेपछि पाथीभरा क्षेत्रमा भएको झडपछि प्रहरीको गोली प्रहारबाट एक जनाले ज्यान गुमाएका थिए। त्यसपछि माघ १३ मा नो केबलकार समूहले सातबुँदे माग राख्दै आन्दोलन घोषणा गरेको थियो।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति जारी गर्दै यातायात बन्दसहितका आन्दोलन कार्यक्रम सार्वजनिक गरेका थिए।
यस्तै, फागुनमा १३ मा सरकारले पाथीभरा केबलकार निर्माण विवादबारे वार्तामा बस्न असन्तुष्ट पक्षलाई आग्रह गर्दै वार्तामा बोलाएको थियो। वार्ता टोली संयोजक भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन आग्रह गरेका थिए।
सरकारले पाथीभरा केबलकार निर्माणमा देखिएका अवरोध समाधान गर्न गत माघ २० मा गठन गरिएको भट्टराई नेतृत्वको टोलीले आन्दोलनरत पक्षसँग दुई पटक वार्ता गरिसके पनि सहमति जुट्न सकेको छैन।
