काठमाडौं। भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन सुकाइएको छ। केही समयअघिसम्म त्यस उद्योग वरपरका बस्तीमा घ्यूसहित बनाउँदै गरेको कुकिजको बास्ना चल्ने गरेकामा अहिले गुन्द्रुक मगमगाउन थालेको छ।
उद्योगले खाजाका रुपमा कोदोसहितका विभिन्न परिकारका ‘अर्गानिक’ बिस्कुट पनि उत्पादन गर्दै आएको छ। पछिल्लो समय उद्योगको छानाभरि रायोका साग र मुलाको सिन्की सुकाइएको पाइन्छ। साग र गुन्द्रुक ओल्टाइपल्टाइ गर्न चार पाँच जना महिला निरन्तर लागिपरेको देखिन्छ।
उद्योगका सञ्चालक पशुपति भुसाल भन्छन्, ‘विदेशमा रहेका साथीभाइले हाम्रा पुराना चीजवस्तु ‘च्याख्ला, कोदो, मकै, गुन्द्रुक, तिलको छोप, टिमुर, अकबरे खुर्सानी, मास दालसहितका गेडागुडी पठाइदेऊ’ भन्ने माग भएपछि छानालाई गुन्द्रुकमय बनाएको हुँ।’
पुरानो पेसाबाट बाहिरिएको नभई समयअनुरुप पेसा–व्यवसायलाई विविधीकरण गर्ने क्रममा नेपाली गुन्द्रुकको बजारीकरणमा लागेको उनको भनाइ छ। अहिले रुचाइएको खानपिनले मानिस पुनः पुरानै युगमा प्रवेश गरेको हो कि भन्ने भान भएको छ। विगतमा बाआमा र हजुरबाले खाएको कोदो, गुन्द्रुक, जौ र फापरको पीठोको माग अहिले विदेशमा पनि ह्वात्तै बढेको छ। नेपालीको बसोबास बाहुल्य भएका मुलुकमा गुन्द्रुकको माग अधिक छ।
गुन्द्रुकको झोल र अचारलाई नेपाली भान्सामा लोकप्रिय परिकारका रुपमा लिने गरिन्छ। पछिल्लो समय चौरासी बेञ्जन थालीमा पनि गुन्दु्रक अनिवार्य मानिएको छ । छिटो झट्पट् तरकारी बनाउनुपर्यो भने गुन्द्रुक नै खोजिन्छ।
गन्द्रुकबारे विद्यावारिधि गरेका टीकाबहादुर कार्की मुख्यतः गुन्द्रुक नेपालकै स्थानीय उत्पादन भएको बताउँछन्। यद्यपि, जापान र चीनमा विभिन्न साग तथा युरोपलगायतका मुलुकमा बन्दागोभीमा नुन राखेर नेपाली गुन्द्रुकसँग मिल्दोजुल्दा खाद्यवस्तु उत्पादन हुँदै आएको छ।
जिब्रोलाई ट्वाक्क छुने अमिलो र स्वादिलो ‘तिउन’ गुन्द्रुक नै हो। नेपाली भान्सामा जाडो होस् वा गर्मी सदाबहार उमालिने तिउन गुन्दु्रक नै हो। नेपालका गाउँबस्तीदेखि सहरका सुपरमार्केटसम्मका पसलमा प्याकिङमा गुन्द्रुक बिक्री हुने गरेको छ। जाडो वा गर्मी, ढिँडो होस् वा भात गुन्द्रुकको झोलसँग ‘सर्याप्प’ मुछेर खाँदाको फुर्ती र आनन्द बेग्लै हुन्छ। स्वादको त बयानै गर्न सकिन्न।
‘नेपाली गुन्द्रुकमा पाइने अमिलोपन स्वादका हिसाबले अनुपम छ, त्यसकारण पनि गुन्द्रुकको लोकप्रियता बढ्दो छ’, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक कार्की भन्छन्।
यस वर्ष काठमाडौँ उपत्यकामा रायो साग निकै सस्तो भयो। त्यसो त भक्तपुर आफैँमा मुलुकभर रायो र काउलीलगायत हरिया सागपात प्रशस्त उत्पादन हुने जिल्लाका रुपमा कहलिएको छ। प्रतिकिलो १५ सम्म रायको साग पनि पाइयो।
उद्योगका संस्थापक भुसाल भन्छन्, ‘महँगोमा उद्योगले केजीको ८० सम्ममा खरिद गरेको थियो। खासगरी रायो, तोरी, सस्र्युं, काउली, मुला आदिको गुन्द्रुक बनाइन्छ। सागको भाउ नेपाली बजारमा खासै चर्काे छैन, सस्तै पाइन्छ। त्यस उद्योगले एक पटकमा एक हजार किलोसम्म साग खरिद गर्दै आएको छ। किसानलाई पनि एकै ठाउँमा आफ्नो उत्पादन दिँदा नै सहज भयो । स्थानीयस्तरबाटै पर्याप्त उपलब्ध भइरहेको छ।’
गुन्दु्रक बनाउन कम्तीमा पनि १५ देखि २० दिनको प्रक्रिया पूरा गर्नुपर्छ। साग किन्ने, केलाउने, धोइपखाली गर्ने, सीधा घाममा सुकाउने, थिच्ने र फेरि सुकाउने, तौल गर्ने, प्याकिङ गर्ने र माग आएबमोजिम बजारसम्म पुर्याउने काम उद्योगले गर्दै आएको छ। देख्दा सामान्य लागे पनि सबै चरण पूरा गर्ने विषय जटिल नै छ। बाहिर पठाउँदा अझ सचेत हुनुपर्छ।
उद्योग सञ्चालक भुसाल सरसफाइमा विशेष ध्यान पु¥याइएको बताउँछन्। ‘यहाँ उत्पादन गरिएको गुन्द्रुकमा शुद्धता र गुणस्तर कायम छ’, उनले भने। नेपालका सबै जिल्ला र गाउँबस्तीमा गुन्द्रुक बनाइन्छ, पकाइन्छ र मीठो मानेर खाइन्छ।’
प्रारम्भमा एक सय किलो रायोको सागबाट सुरु गरेकामा दैनिक एक हजार पाँच सय किलोसम्म साग खरिद गर्न सफल भएको छ। एक सय किलो रायो सागबाट करिब १० किलो गुन्दु्रक तयार हुने सञ्चालक भुसालको भनाइ छ। तोरीको गुन्द्रुकको विदेशमा ठूूलो माग छ । तर, काठमाडौँ उपत्यकाले त्यो माग धान्न सक्ने अवस्था छैन। सरकारले त्यसका लागि तराई–मधेसका कुनै क्षेत्र विशेषलाई ‘पकेट’ क्षेत्र घोषणा गर्न आवश्यक देखिएको उनको भनाइ छ।
उद्योगले आफ्ना उत्पादनको विविधीकरण गर्ने उद्देश्यले सुरु गरेको गुन्द्रुकका लागि अहिले सूर्यविनायक, सानोठिमी र बोडे इलाकाबाट साग संकलन भइरहेको छ। गुन्द्रुकका लागि छिप्पिएको र ठूला पात भएको साग राम्रो मानिन्छ। रायोका साग पनि विभिन्न प्रकारको पाइन्छ। मीठो गुन्द्रुक बनाउने र गुणस्तर कायम गर्ने सवालमा पाका पुराना पुस्ता स्वयं विषय विज्ञका रुपमा रहेका उद्योगी भुसाल बताउँछन्। उद्योगले उनै पुराना पुस्ताका कामदारलाई प्रशिक्षक बनाएर गुन्द्रुक र सिन्की तयार गरिरहेको छ।
थकाली भान्सामा गुन्द्रुक अनिवार्य नै मानिन्छ। आलु–गुन्द्रुक, गुन्द्रुक–भट्टमास, तितौरा, गुन्दु्रक बोडी, आँपको चानासँग पनि गुन्द्रुक मिसाएर पकाइन्छ। विश्वका कयौँ मुलुकले खाद्य परीक्षण गरी गुन्द्रुकलाई खानयोग्य भनेर प्रमाणित गरिसकेको छ।भाटभटेनी, मार्ट र अन्य स्टोरमा नमुनाका लागि पठाइसकिएको उहाँको भनाइ छ। गुन्द्रुक प्रतिकिलो सात सयदेखि एक हजार पर्छ।
उद्योगले प्रतिदिन करिब एक सय ५० किलोसम्म गुन्द्रुक निकालिरहेको छ। जाडोयाममा प्रशस्तै साग प्राप्त भए पनि अरु मौसममा त्यसको व्यवस्थापन कसरी मिलाउने भन्ने प्रश्न छ। कसैलाई हेपेर गाली गर्नुपर्यो भने ‘यो गुन्द्रुकले केही गर्न सकेन’ भन्दा यसको महत्त्व नबुझेको हो कि भन्ने भान पर्न सक्छ । हुन त, नेपाली समाजमा ‘जात फाल्नु गुन्द्रुकको झोलमा’ भन्ने अर्गानिक उखानै छ।
गुन्द्रुकमा पोटासियम, भिटामिन सी, आइरन, सोडियम धेरै पाइने र रेसादार भएकाले कोलेस्ट्रोललाई घटाउन योगदान पु¥याउने विश्वास गरिएको छ। त्यसो त सरस्वती घरेलु तितौरा उद्योग गोकर्णेश्वर, भाटभटेनी फुड्स उद्योग, पहाडी फुड्स प्रालि रुपन्देही, एन्जल कृषि फार्म दक्षिणकालीबाट उत्पादित गुन्द्रुक भाटभटेनीलगायत ठूला मार्टमा उपलब्ध हुँदै आएको छ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत हुमाकुमारी बखिम भन्छिन्, ‘गुन्द्रुक तयार गर्दा सरसफाइ र सुकाउने विषयमा अली बढी ध्यान पुर्याउनुपर्छ।’ गुन्द्रुक गुन्द्री, नाङ्लो, माद्रो र त्रिपालमा सुकाउने गरिन्छ। त्यसरी खुल्ला सुकाउँदा कपाललगायत वस्तु पर्नसक्ने हुँदा जालीदार कपडाले छोप्नु बुद्धिमानी हुनेछ।
इलामको रोङ गाउँपालिकाले आफैँ उद्योग सञ्चालनको अनुमति लिएर सञ्चालन गर्दै आएको छ। पुराना बन्द भएका चिया उद्योगलाई गुन्द्रुक उत्पादन गर्नका लागि पुनःस्थापना गरिएको छ । चिसो याममा गुन्द्रुकको तिउन बढी खाइन्छ भने गर्मीमा अचार बढी रुचाइन्छ।
गुन्दु्रकका लागि इलाम, धनकुटा, दोलखा, म्याग्दी, स्याङजा, बागलुङ, ओखलढुङ्गा, भोजपुर, सिन्धुलीलगायत पहाडी जिल्ला प्रख्यात छ। खाद्य सुरक्षाका लागि पनि गुन्द्रुकले टेवा पुर्याउँछ। सागको बजारीकरण नहुँदा त्यसलाई खाँदेर गुन्द्रुक बनाउँदा खाद्य सुरक्षामा योगदान दिन्छ।
नेपालीको बाक्लो बसोबास रहेका क्षेत्र अमेरिका, जापान, अष्ट्रेलिया, खाडीमुलुकमा सञ्चालित नेपाली होटल र रेष्टुराँमा मासको दाल, तितौरा र गुन्द्रुकको अत्यधिक माग रहेको छ। व्यवसायी शान्ता अधिकारी छिट्टै दुई सय किलो गुन्द्रुक जापान निर्यात गर्ने तयारी गरिरहेको बताउँछिन्।–रासस