कफीका नियमित पारखीका लागि हाल विभिन्न विधिबाट क्याफिनको मात्रा कम गरी तयार गरिएका डिक्याफिनेटेड कफी उपलब्ध छन्। यसमा क्याफिनको मात्रा २ मिलिग्राम प्रतिकप मात्रै हुने गर्छ। फिल्टर कफीको तुलनामा नेपालमा बाहिरबाट आयात गरिने इन्स्टेन्ट कफीमा पनि क्याफिनको मात्रा ३० देखि ६० प्रतिशत कम हुन्छ।
विश्वमा कफीको नाम नसुन्ने मानिस सायदै होलान्। चियाजस्तै कफी पनि एक वैधानिक पेयपदार्थ हो। नवौं शताब्दीतिर इथियोपियाको कफा प्रान्तमा बाख्रा गोठलाले कफी पत्ता लगाएको इतिहास छ। हाल विश्वका ७० बढी देशमा कफी उत्पादन हुन्छ भने खपत सबै मुलुकमा हुने गरेको छ। ब्राजिलले विश्वको एक तिहाइ बढी कफी उत्पादन गरेर सबैभन्दा बढी उत्पादक बन्दै आएको छ। भारत पनि विश्वमा कफी उत्पादन गर्ने प्रमुख १० देशमा पर्छ। विश्वमा पेट्रोलियम पदार्थपछि धेरै आर्थिक कारोबार हुने वस्तुमा कफी उद्योगले वार्षिक करिब ९० अर्ब डलर बढीको हिस्सा ओगटेको छ।

नेपालमा कफीको अवस्था
नेपालको कफीको इतिहास आठ दशकभन्दा लामो छ। १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आँपचौरमा रोपेका थिए। आव २०८०÷८१ को तथ्यांक हेर्ने हो भने कफी खेती ४३ जिल्लामा करिब ४३ सय ९ हेक्टरमा फैलिएको छ। यसको उत्पादन ५ सय १ मेट्रिक टन रहेको छ। यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशत बढी हो।
उत्पादन कम हुने भए पनि नेपाली कफीले स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीसँग प्रतिस्पर्धी स्थान बनाउन सफल भएको छ। स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च छ। सोही कारण नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरका हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ। नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ।

आयात मूल्यको तुलनामा झन्डै ३ गुणा बढी मुल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ। आव २०८०/८१ मा नेपालले १४ करोड ९२ लाख बराबरको ८९ मेट्रिक टन कफी जापान, स्विट्जरल्यान्ड, जर्मनी, दक्षिण कोरिया, अमेरिकालगायत मुलुकमा निर्यात गरेको छ।
कफी संस्कृतिको विकास
विश्वमा हरेक दिन २ अर्ब २५ करोड बढी कप कफी खपत भइरहेको तथ्यांक छ। सामान्य भेटघाटदेखि ठूल्ठूला योजना कफी भेटमै हुने गरेका छन्। युवापुस्ता माझ अझ बढी लोकप्रिय कफीलाई विश्वका कतिपय देशमा व्यक्तिको मान–प्रतिष्ठा र संस्कारसँग जोडेर हेर्ने चलन छ।
व्यवस्थित रुपमा कफी पिउने चलन १३औं शताब्दीदेखि मात्रै सुरु भएको हो। इतिहासअनुसार यमनमा इस्लामिक धर्म गुरु सुफिसले आफ्नो प्रार्थनालाई रातभर जगाइराख्न र शारीरिक ऊर्जा प्राप्तिका लागि कफी पिउन थालेका थिए। कान्ट, भोल्तेयरजस्ता विश्व विख्यात दार्शनिकले त दिनमै ५०औं कपसम्म कफी पिउने गर्थे भन्ने इतिहास भेटिन्छ। १५औं शताब्दीपछि भने विश्वका आर्थिक क्रान्तिदेखि शासन सत्ता परिवर्तन हुनुमा कफीले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।

विश्वमा सबैभन्दा बढी कफी सेवन गरिने देश फिनल्यान्डमा एक व्यक्तिले प्रतिवर्ष औषत १२.२ केजी कफी खपत गर्छन्। स्वीडेन (१०.१ केजी) र नर्वे (८.७ केजी) क्रमशः दोस्रो र तेस्रोमा पर्छन्। केही वर्ष अघिसम्म कुलीन वर्गको पेय पदार्थ मानिने कफी आज हरेक भान्साको अनिवार्यजस्तै बनेको छ। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, बुटवल, चितवन, बिर्तामोड, नेपालगञ्ज, विराटनगरजस्ता व्यापारिक सहरमा कफी पिउने चलन तीव्र रुपमा बढिरहेको छ। नेपाल लगायत विभिन्न देशमा विभिन्न जातका कफी उत्पादन हुने भए पनि गुणस्तर र स्वादका हिसाबले अरेबिका प्रजातिको कफीले ७५ प्रतिशत हिस्सा ओगटेको छ।
कफीको यथार्थः क्याफिन, प्रयोग र असर
कफीको नाम लिनेबित्तिकै क्याफिन जोडिएर आउँछ। कफी सेवनमार्फत तथा विभिन्न वस्तुमा मिसाएर पनि क्याफिन सेवन गर्ने चलन बढ्दो छ। क्याफिन मानिसको केन्द्रीय स्नायु प्रणालीलाई प्रभाव पार्ने एक प्राकृतिक रासायनिक तत्त्व हो। यो विभिन्न बालीको पात, बिउ तथा पाँच दर्जभन्दा बढी प्रजातिका फलफूलमा पाइन्छ। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले एक व्यक्तिले दिनमा ४ सय मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्नु हानिकारक हुने जनाएको छ। उक्त परिमाणको क्याफिन सामान्यतया ३–४ कप कफीमा पाइन्छ ।
विश्वमा सबै पुस्तामाझ कफी निकै लोकप्रिय पेयपदार्थ बनिसकेको छ। नेपालमा यसको खपत बढ्दै गइरहेकाले वार्षिक उत्पादनले करिब १ महिना पनि माग धान्न नसक्ने अवस्था छ। सोही कारण छिमेकी भारतबाट वार्षिक रूपमा करोडौंको कफी आयात हुने गरेको छ।
विश्वकै चर्चित कफी चेन स्टारबक्सले प्रयोग गर्ने सिंगल सट (३० एमएल) एस्प्रेसोमा क्याफिनको मात्रा ५८ मिलिग्राम हुन्छ लाते र क्यापुचिनोमा क्याफिनको मात्रा १ सय १६ मिलिग्राम हुन्छ। सिंगल सट अमेरिकानोमा ६० देखि १०० मिलिग्राम क्याफिन हुन्छ। कफीका नियमित पारखीका लागि हाल विभिन्न विधिबाट क्याफिनको मात्रा कम गरी तयार गरिएका डिक्याफिनेटेड कफी उपलब्ध छन्। यसमा क्याफिनको मात्रा २ मिलिग्राम प्रतिकप मात्रै हुने गर्छ। फिल्टर कफीको तुलनामा नेपालमा बाहिरबाट आयात गरिने इन्स्टेन्ट कफीमा पनि क्याफिनको मात्रा ३० देखि ६० प्रतिशत कम हुन्छ।

कफीको सेवनबाट शरीरमा स्फूर्ति पैदा हुन्छ । थकान र अल्छीपनाबाट केही समयका लागि शरीरलाई चुस्त, दुरुस्त, मानसिक रुपमा सक्रिय एवं सजग रहन पनि कफीले मद्दत गर्छ। कफीको सेवनबाट पाचन प्रणाली मजबुत हुनुका साथै मानव शरीरमा आवश्यक भिटामिन बी–२, बी–३, पोटासियम, म्याग्नेसियम, फस्फोरस, म्यान्गानिजलगायतका भिटामिन तथा खनिज प्राप्त हुन्छ।
अमेरिकाको नेसनल हेल्थ इन्स्टिच्युटले गरेको अध्ययनअनुसार कफीको नियमित सेवनबाट मानिसमा भविष्यमा अल्जाइमर्स रोग हुने सक्ने जोखिम ६५ प्रतिशतले कम हुन्छ। त्यस्तै, पार्किन्सन्स रोग लाग्न सक्ने जोखिम ३२ देखि ६० प्रतिशतले कम हुन्छ। कफीको नियमित सेवनबाट टाइप–२ मधुमेह हुने अवस्थालाई २३ देखि ६७ प्रतिशतले कम हुन्छ। दैनिक २–३ कप कफी सेवन गर्नाले तौल घटाउन सहयोग पुग्छ। एक अध्ययनअनुसार दैनिक ३–४ कप कफी पिउने मानिसलाई मुटुसँग सम्बन्धित समस्याको जोखिम अत्यन्त कम हुने र औषत आयु पनि बढी हुने देखाएको छ।
त्यस्तै, कफी पिउने महिलामा मुटुसम्बन्धी विभिन्न रोग, स्ट्रोक, मधुमेह, दम तथा मिर्गौला रोगका कारण हुने मृत्युदरमा कम हुने पाइएको छ। युरोपियन हेल्थ जर्नलमा हालै प्रकाशित लेखअनुसार कफी पिउने समयले पनि मानिसको स्वास्थ्यमा हुने नतिजामा फरक पर्ने देखाएको छ। कफी नपिउने तथा अन्य समय कफी पिउने मानिसको तुलनामा बिहानको समयमा कफी पिउने मानिसको छिटो मृत्यु हुने जोखिम १६ प्रतिशतले कम हुने देखिएको छ। त्यस्तै, मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ३१ प्रतिशतले कम हुने अध्ययनले देखाएको छ।

तर, कफीको मात्रा, तरिका र समय नमिलेको खण्डमा वा दैनिक अत्यधिक मात्रामा कफी सेवन गरेको खण्डमा निन्द्रा बिथोलिने, मुटुको धड्कन तेज हुने, चिन्ता बढ्ने, रिसाउने, झोक्किने, असन्तुलित आनीबानी देखिनेलगायतका समस्या हुने अध्ययनले देखाएका छन्। कतिपयमा कफीले रक्तचाप बढाउँछ भन्ने धारणा रहेको छ। तर, कफी सेवनका कारण त्यस्तो समस्या नदेखिने अध्ययनले देखाएको छ। यद्यपि अस्वाभाविक सेवनले रक्तचाप अस्थिर हुने र कार्डियोभास्कुलर समस्याको जोखिम बढाउने देखिएको छ। त्यस्तै, गर्भवती महिला र बच्चालाई दूध चुसाइरेका महिलाले दैनिक बढीमा एक कपभन्दा बढी कफी सेवन नगर्नु उपयुक्त हुने देखिएको छ।
कफी कस्तो र कसरी पिउने ?
हाल विश्वभर उपभोक्ताको रोजाइअनुसार कफीका प्रजाति, प्रशोधन विधि र ब्रुइङ गर्ने तरिकाअनुरुप यसको स्वाद र गुणस्तरमा ध्यान दिने गरिन्छ। विभिन्न देशमा उत्पादित कफीको प्रशोधन गरी फिल्टर र इन्स्टेन्ट गरी दुई प्रकारमा उपलब्ध भए पनि सबैभन्दा राम्रो फिल्टर ब्रिउ कफी हो। यसलाई हामीले मन पर्ने विभिन्न प्रशोधनका विधि अपनाएर ताजा रुपमा तयार गर्न सकिन्छ। ताजा रुपमा भुटेर पिसेको धुलो कफीलाई ९० देखि ९६ डिग्री सेल्सियस तापक्रम पानीको प्रयोग गरी २ देखि ३ मिनेट राखेर तयार गरिन्छ।
कफीलाई आफ्नो इच्छाअनुसार तातो वा चिसो बनाएर पिउन सकिन्छ। कफी बनाउन एस्प्रेसो मेसिन, भी–६०, मोका पट, फ्रेन्च प्रेस, कफी ड्रिपर, एइरो प्रेस, पउर ओभर, केमेक्सजस्ता उपकरण प्रयोग गर्न सकिन्छ। एस्प्रेसो कफी मेसिनबाट तत्कालै तयार गर्न सकिन्छ। एस्प्रेसो कफी अमेरिकानो, क्यापुचिनो, लाते, मचियातोलगायतका कफीको बेस पनि हो।
धेरै नेपालीको रोजाइमा नेसक्याफे, ब्रुगोल्ड, म्याककफी, कोस्टाजस्ता इन्स्टेन्ट कफी पनि छन्। इन्स्टेन्ट कफी खासगरी स्प्रे ड्राइंग र फ्रिज ड्राइङ विधिबाट तयार गरिन्छ। यो कफी तातो दूध वा पानीमा सजिलैसँग घुल्ने भएकाले बनाउन पनि सजिलो हुन्छ। त्यसका साथै यो सस्तो र सहज रूपमा उपलब्ध हुन्छ।
नेपाली कफी पनि विश्वमा विशिष्ट गुण भएको स्पेसियालिटी कफीका रूपमा चिनिन्छ। खासगरी कफी पिउँदा त्यसबाट आउने बास्ना, स्वाद, अम्लियपना, बाक्लोपना तथा शुद्धता सन्तुलित भएको खण्डमा त्यो राम्रो मानिन्छ। विश्वमा केही स्थान विशेषमा उत्पादन गरिएका कफी जस्तै, जमैका ब्लुमाउन्टेन, हवाई कोना कफी, कोलम्बियन कफी, कफी लुवाक आदि स्वादमा निकै भिन्न र महँगो मूल्यमा बिक्री हुने विश्वस्तरीय कफी मानिन्छन्।
अन्तमा,
पक्कै पनि आजको विश्वमा सबै पुस्तामाझ कफी निकै लोकप्रिय पेयपदार्थ बनिसकेको छ। नेपालमा यसको खपत बढ्दै गइरहेकाले वार्षिक उत्पादनले करिब १ महिना पनि माग धान्न नसक्ने अवस्था छ। सोही कारण छिमेकी भारतबाट वार्षिक रूपमा करोडौंको कफी आयात हुने गरेको छ। नेपालको मध्यपहाडी क्षेत्रमा कफी खेतीको प्रचुर सम्भावना छ। अन्य परम्परागत बालीको तुलनामा ३–४ गुणा बढी आम्दानी लिन सकिने, बाँदरलगायत जंगली जनावरले खासै क्षति नगर्ने, अर्गानिक खेती प्रणाली तथा मूल्य र बजार सुनिश्चित भएकले कफी खेतीको सम्भावना निकै छ। कफी क्षेत्रमा व्यापक रुपान्तरणका लागि संरक्षण र प्रवद्र्धनका कार्यक्रममार्फत कफी इस्टेट स्थापना गर्न सके युवा तथा महिला सहभागिता बढाउन सक्ने देखिन्छ।
(पुरी राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि विकास अधिकृत हुन्)