काठमाडौं। उद्योग विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा साढे ४४ अर्ब बढी लगानी प्रतिबद्धता प्राप्त भएको तथ्यांक सार्वजनिक गरेको छ।
विभागले आज सार्वजनिक गरेको विवरणअनुसार यो वर्षको साउनदेखि फागुनसम्म ४२७ कम्पनीबाट ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो।
यद्यपि यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० अर्ब रुपैयाँ कम रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५६ अर्ब ४४ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।
यस अवधिमा सेवाक्षेत्रमा सबैभन्दा बढी २२ अर्ब ३६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भित्रिएको छ, जुन कुल प्रतिबद्धताको झन्डै ५० प्रतिशत हो। विभागका अनुसार सेवाक्षेत्रमा ५४ वटाले लगानी प्रतिबद्धता जनाएका थिए।
पर्यटन क्षेत्रमा मात्र १७ अर्ब ९० अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ, जुन कुल लगानी प्रतिबद्धताको करिब ४० प्रतिशत हो। यो क्षेत्रमा १८० वटा उद्योगले लगानी प्रतिबद्धता जनाएका जनाएका छन्।
विभागका अनुसार उत्पादनमूलक क्षेत्रमा २ अर्ब ६३ करोड रुपैयाँको प्रतिबद्धता आएको छ।, सूचना तथा प्रविधि क्षेत्रमा ९५ करोड रुपैयाँको प्रतिबद्धता आएको छ। यो क्षेत्रमा सबैभन्दा बढी १५४ वटा लगानी प्रतिबद्धता प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ।
पछिल्लो आठ महिनामा कृषि तथा ऊर्जा क्षेत्रमा कम लगानी प्रतिबद्धता प्राप्त भएकाे छ।
विभागका अनुसार फागुनमा मात्रै १७ अर्ब ८० रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। गत साउनमा करिब ८ अर्ब प्रतिबद्धता प्राप्त भएकामा फागुनको विदेशी लगानी प्रतिबद्धता यो वर्षको ठूलो रहेको विभागले जनाएको छ।
फागुनमा प्राप्त लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही महिनाको तुलनामा झन्डै तेब्बर हो। अघिल्लो वर्ष सोही अवधिको करिब ६ अर्बको मात्रै लगानी प्रतिबद्धता प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ।
विभागका अनुसार पछिल्लो आठ महिनामा उत्पादनमूलक क्षेत्रमा ३ वटा स्वीकृतिबाट ५१ करोड, कृषि क्षेत्रमा एउटा स्वीकृतिबाट २ करोड, पर्यटन क्षेत्रमा १२ वटा स्वीकृतिबाट ५८ करोड, सेवा क्षेत्रमा ६ वटा स्वीकृतिबाट १६ अर्ब र सूचना प्रविधि क्षेत्रमा २० स्वीकृतिबाट १४ करोड ३६ लाख वटा प्रतिबद्धता प्राप्त भएको छ।
विभागका अनुसार हालसम्म कुल लगानी प्रतिबद्धता ५ अर्ब ६४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।