काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको विवरण सार्वजनिक गरेको छ।
महालेखाको तथ्यांकअनुसार गत फागुनसम्म सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ। अर्थात् दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ।
त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ। महालेखा तथ्यांकअनुसार फागुनसम्म पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ। सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकामा हालसम्म ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो। फागुनसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात् आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ।
चालू शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात् पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापन शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ।
सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात् सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ। यसमध्ये कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकामा ४९ दशमलव ७४ प्रतिशत अर्थात ६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख संकलन भएको छ।
त्यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात् ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ।
सरकारको वैदेशिक अनुदान संकलन पनि निकै कमजोर छ। चालू आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात् ९ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ।