काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तयारी सुरु भएको छ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि गत फागुन २१ देखि मन्त्रालयगत छलफल सुरु गरेको हो।
सोही प्रक्रियाअनुरुप हालसम्म पाँच वटा मन्त्रालयको बजेट छलफल सम्पन्न गरिसकेको मन्त्रालयले जनाएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि मन्त्रालयले आ–आफ्ना कार्यक्रम तथा योजना बनाइरहेका छन् । सोही क्रममा अर्थ मन्त्रालयले समेत नीति तथा कार्यक्रमको गृहकार्य थालेको हो।
हालसम्मका बजेट छलफलमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन्।
यथार्थपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्नु नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ। सबै मन्त्रालयको बजेट दाता रहेको अर्थ आफैंले आगामी जेठ १५ मा सार्वजनिक हुने नीति तथा कार्यक्रमको गृहकार्य थालेको हाे।
अर्थको प्रारम्भिक खाकाअनुसार अनौपचारिक क्षेत्रका आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा घटाउँदै लैजाने कार्यक्रम प्रस्ताव गरेको छ। अनौपचारिक अर्थतन्त्रलाई औपचारिकीकरण गर्न विस्तृत अध्ययन गरिने उल्लेख छ।
मन्त्रालयले वर्ष दिनभित्रै नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउने गरी कार्यविधि तर्जुमा र कार्यान्वयन गर्ने प्रस्तावसहित आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम तयारी गरेको हो।
२०८२ माघसम्म नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनसक्ने गरी तत्कालीन कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गरिनेछ।
मन्त्रालयले तीन वटै तहका सरकारको आर्थिक क्रियाकलापलाई दिशा निर्देश गर्न छाता नीतिका रूपमा संघीय आर्थिक नीति तर्जुमा प्रस्ताव गरेको छ। २०८२ चैतसम्म यस्तो नीति तर्जुमा गरिसक्ने उल्लेख छ।
मौद्रिक नीति र वित्त नीतिबीच सामन्जस्य कायम गर्न विशेषज्ञ सम्मिलित थिंक ट्यांक २०८२ साउनभित्र गठन गरिसक्ने समयसीमाको लक्ष्य राखिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
‘आगामी वर्षका लागि नीति तथा कार्यक्रममा समेटिने विषयबारे मन्त्रालयले आन्तरिक गृहकार्य थालिसकेको छ, समयमै तयार गर्नेछौं। अहिलेको आवश्यकतालाई हेरेर कार्यक्रम बनाइँदै छ’, प्रवक्ता घिमिरेले भने।
सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ।