काठमाडौं। शिक्षा मन्त्रालयअन्तर्गतको बूढानीलकण्ठ स्कुल काठमाडौंले आवासीय सुविधासहित छात्रवृत्तिमा अध्ययन गर्न आवेदन खुलाएको छ।
आज खुलाइएको आवेदनअनुसार बूढानीलकण्ठ स्कुलमा ४२ र साझेदार स्कुलमा ७७ जनालाई कक्षा ५ देखि छात्रवृत्तिमा पढाउन आवेदन खुलेको हो।
मासिक ५० हजार वा सोभन्दा बढी आय हुने अभिभावक वा सरकारको उपसचिव वा सोसरह र त्यसमाथिको पदमा कार्यरत कर्मचारीका छोराछोरी छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुन नसक्ने सूचनामा उल्लेख छ।
बूढानीलकण्ठमा ४२ मध्ये ५० प्रतिशत छात्रा रहनेछन्। लोपोन्मुख जातजातिबाट ४ जना, मुस्लिमबाट १ जना, मधेसीबाट ४ जना, जनजातिबाट ५ जना र पिछडिएको क्षेत्रबाट २ जना छानिनेछन्।
खुला र आरक्षण गरी एक जिल्लाबाट एकभन्दा बढी नहुने गरी ४० जना विद्यार्थी परीक्षाबाट छनोट गरिनेछ।
दुई जना विद्यालय रहेको बूढानीलकण्ठ नगरबाट एक छात्रा र एक छात्रलाई छनोट गरिनेछ। साझेदारी कार्यक्रमअन्तर्गतका स्कुलमा ७७ जनालाई छात्रवृत्ति दिइने सूचनामा उल्लेख छ।
सर्लाहीको नवजीवन माध्यमिक विद्यालय, काठमाडौंको कुलेश्वर आवास माध्यमिक विद्यालय, कास्कीको जनता माध्यमिक विद्यालय, धनकुटाको शीतलादेवी माध्यमिक विद्यालय र कैलालीको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय साझेदार कार्यक्रमा सहभागी छन्।
यी विद्यालयमा छात्रवृत्तिमा पढ्न २६ छात्रा, दलिततर्फ ५, मुस्लिम ६, जनजाति ९, सहिद तथा द्वन्द्वपीडित परिवारका सन्तति र वैदेशिक रोजगारका क्रममा मृत्यु भएका परिवारबाट १ जना छनोट हुनेछन्।
१०० रुपैयाँ दस्तुर तोकिएको आवेदन बुझाउने म्याद चैत २७ सम्म रहेको छ। छात्रवृत्ति छनोट परीक्षाका लागि विभिन्न जिल्लाका २६ विद्यालय तोकिएको छ।
