काठमाडौं। दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।
कम्पनीमा कार्यरत श्रमिकसँग विभिन्न समय भएका सहमति ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले कार्यान्वयन नगर्दा आयोजनाको काम ठप्प पारिएको हो।
आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको सिनो हाइड्रोले कम्पनीमा कार्यरत नेपाली श्रमिकको माग सम्बोधन नगरेपछि फागुन २८ देखि सबै काम रोकिएको श्रमिक जीवन मगरले बताए।
यसअघि नेपाली श्रमिकले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधानअनुसार रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए। श्रमिकले राखेका माग पूरा गर्न फागुन १६ मा कम्पनीले सहमति गरे पनि कार्यान्वयन नभएको भन्दै काम ठप्प पारिएको हो।
स्थानीय जनप्रतिनिधि र आयोजना पदाधिकारीको रोहवरमा भएको सहमति कार्यान्वयन गर्न कम्पनीले नमानेपछि कामकाज ठप्प पारे आन्दोलनमा उत्रिनुपरेको मजदुर बताउँछन्।
एक साताभित्र सबै नेपाली श्रमिकलाई रोजगार सम्झौताको पत्र उपलब्ध गराउनुपर्ने सहमति भए पनि ताकिएको समय कम्पनीले काम नगरेको र फागुन १९ मा पुनः कम्पनी व्यवस्थापलाई ध्यानाकर्षण गराइएको अर्का मदन कुमार श्रेष्ठले बताए।
सहमति कार्यान्वयन नहुँदासम्म कामकाज ठप्प पार्ने सबै नेपाली श्रमिकको निर्णय भएको उनको भनाइ छ। कामकाज ठप्प पार्दा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार अडिट–१ र २ को ठेकेदार कम्पनी हुनुपर्ने श्रमिकबाट बुधबार जारी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बिमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलब वृद्धि÷ग्रेड आदिबारे स्पष्टता खोजेका छन्।
यस्तै, कार्यघन्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणबारे कम्पनीले स्पष्ट पार्नुपर्ने उनीहरुको माग छ। हाल तामाकोसी पाँचौंमा कार्यरत करिब पाँच सयमध्ये चार सय नेपाली श्रमिक छन्।
