काठमाडौ। होली पर्व अवसरमा एनटीटी डोकोमो, कलरबाथ जापान र आईजीसी बिजनेस होल्डिङले ठमेल पर्यटन विकास बोर्डको समन्वयमा ठमेलमा ‘सडक सफा’ कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा क्लिन हीरो प्रोजेक्टको सहकार्य रहेको छ। यसले राष्ट्रसंघको विकास लक्ष्य (एसडीजी) सँग जोडिएर नेपालमा फोहोर व्यवस्थापन र पर्यावरणीय स्थिरता प्रवर्द्र्धन उद्देश्य राखेको छ।
नेपाल प्राकृतिक सुन्दरता र मिलनसार मानिसका लागि प्रख्यात भए पनि बढ्दो फोहोर समस्याले पर्यावरणका लागि ठूलो चुनौती बनेको छ।

कार्यक्रममा आयोजक कम्पनीका प्रतिनिधिले काठमाडौं उपत्यकाको फोहोर विसर्जन स्थल सिसडोल भ्रमण गरी बायोडिग्रेडेबल र नन–बायोडिग्रेडेबल फोहोर छुट्याउनुको महत्त्वबारे जानकारी आदान–प्रदान गरेका थिए। फोहोर समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक कदम चाल्नुपर्नेमा उनीहरुको जोड थियो।
क्लिन हीरो प्रोजेक्टले ठमेलका सडक सफा गर्ने मात्र नभई फोहोर छुट्याउने, रिसाइक्लिङ गर्ने र पर्यावरण संरक्षण महत्त्वबारे जागरुकता फैलाउने मुख्य उद्देश्य राखेको छ। स्थानीय, पर्यटक र कम्पनीका प्रतिनिधिले यो कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाएका थिए।
सफा अभियानका साथै आयोजक कम्पनीले फोहोर छुट्याउने र रिसाइक्लिङ प्रोत्साहन गर्ने मोबाइल एप्लिकेसन विकास गर्ने कार्यक्रममा जानकारी दिइयो।

कार्यान्वयन चरणमा रहेको यो एप्लिकेसनले घरधुरी, होटल, रेस्टुराँ र बारलाई फोहोर संकलक कम्पनीसँग जोड्नेछ, जसले गर्दा फोहोर व्यवस्थापन सजिलो एवं प्रभावकारी हुनेछ। क्लिन हिरो प्रोजेक्ट नेपाललाई सफा र हरियाली बनाउने साझा प्रयास हो।
कार्यक्रममा सहयोग एवं सहभागिताका लागि ठमेल पर्यटन विकास बोर्ड अध्यक्ष धु्रव अधिकारी, उपाध्यक्ष कृष्ण थपालियालगायतको टिमले पनि सहयोग गरेको थियो।