काठमाडौं। महिलाको आर्थिक सशक्तीकरण गर्न सके मात्रै सिंगो समाज र देश समृद्ध हुने प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले बताएकी बताएकी छन्।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको पहिलो साधारणसभा तथा स्थापना दिवस अवसरमा उपसभामुख रानाले यस्तो बताएकी हुन्।
आर्थिक रुपमा सबल नहुँदासम्म महिलाले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भन्दै उनले संविधानमा उल्लिखित अधिकार सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिइन्।
महिला उद्यमी र व्यवसायीलाई निर्धक्कसँग स्वच्छ व्यवसाय गर्न आग्रह गर्दै उनले भनिन्, ‘तपार्इंहरुले तिरेको करबाट राज्य संयन्त्र चलेको छ। त्यो कर कहाँ र कसरी सदुपयोग भएको छ। त्यसबारे पनि चासो लिने गर्नुस्।’
महिलाबारे नीतिगत रुपमा राज्यले र व्यावहारिक रुपमा समाजले समान धारणा बनाउन सके अहिलेको विभेद अवस्था अन्त्य हुने उनको भनाइ छ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष विष्णुमाया उचहीले महिलालाई सफल उद्यमी बनाउन महिलामैत्री नीतिको खाँचो रहेको बताइन्। महिलालाई उद्यमशील बनाउन तालिमका साथै आर्थिक र प्रविधिक क्षेत्रको सहज पहुँच हुनुपर्नेमा उनले जोड दिइन्।
नेपालले संविधान र अन्य कानुनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागू गरेको बताउँदै उनले मुलुकको समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्तीकरण गर्नुपर्ने आवश्यकता औंल्याइन्।
महिला आर्थिक रूपमा सशक्त भएकै कारण उनीहरुमाथि हुने हिंसा कम भएको भन्दै उनले पछिल्ला दिनमा आर्थिक रूपमा सशक्त हुँदै गएको बताइन्।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलोबाबु श्रेष्ठले विगतमा संघबाट सुरु भएको महासंघ सातै प्रदेशमा पुगेको र महासंघअन्तर्गत महिला उद्यमी समिति पनि सक्रियताका साथ अगाडि बढेको बताए।
कार्यक्रममा ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष मधुबहादुर कार्की, निवर्तमान अध्यक्ष मोहन कटुवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवाल, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका महासचिव विवेकदास श्रेष्ठलगायतले बोलेका थिए।