काठमाडौं। कर्जा मन्दीकै अवस्थामा रहेका बैंकहरूले सवारीसाधन खरिदमै १ अर्ब २९ अर्ब कर्जा प्रवाह गरेका छन्। बैंकहरूले चालू वर्षको माघसम्म कुल कर्जाको २.१५ प्रतिशत हायर पर्चेज शीर्षकमा कर्जा प्रवाह गरेका हुन्।
बैंकहरूले नियामकीय प्रावधानअनुसार विद्युतीय सवारीमा ८० प्रतिशत र पेट्रोलियम सवारीमा ४० प्रतिशत कर्जा अनुपात कायम राखेर कर्जा प्रवाह गरेका हुन्।
राष्ट्र बैंकले मौद्रिकको पछिल्लो मौद्रिक नीतिमा सबै प्रकारका विद्युतीय सवारी खरिदमा ६० प्रतिशत र अन्य प्रकारका व्यक्तिगत सवारी खरिदका लागि ६० प्रतिशत कर्जा अनुपात कायम गरेको छ। नयाँ सवारी खरिद नीतिले आगामी दिनमा बैंकमा सवारी कर्जा माग घट्ने नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘अन्य क्षेत्रमा लोनको डिमान्ड नहुँदा अटोमा छ, जसमा अहिले बैंकहरूको सवारी कर्जामा करिब ८० प्रतिशत विद्युतीयकै हिस्सा छ,’ संघ अध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘विद्युतीय सवारीको लोन टु भ्याल्लु रेसियो घटेपछि आगामी दिनमा कर्जा पनि घटने देखिन्छ।’ केही समययता सवारी कर्जाले बढाएको बैंकहरूको व्यवसाय अर्को महिनादेखि घट्न सक्ने उनको अनुमान हो।
यसअघि राष्ट्र बैंकले व्यावसायिक प्रयोजनका सवारीमा भने विद्युतीय र पेटोलियम सवारीमा समान कर्जा अनुपात कायम गरेको थियो। पेटोलियममा व्यावसायिक प्रयोजनमा बैंकहरूले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाएका थिए। अहिले विद्युतीयका व्यावसायिक सवारीलाई मात्रै ६० प्रतिशत गरी पेटोलियममा ८० प्रतिशतसम्म गर्न सकिने व्यवस्था राष्ट बैंकले गरेकाे छ।
चालू वर्षको ७ महिनासम्म बैंकद्वारा प्रवाहित सवारी कर्जामध्ये ८७ अर्ब ६१ करोड रुपैयाँ व्यावसायिक प्रयोजनका लागि र ४२ अर्ब ७ करोड रुपैयाँ व्यक्तिगत प्रयोजनका सवारी खरिदका लागि कर्जा प्रवाह गरेका हुन्।
बैंकिङ क्षेत्र केही महिना यता कर्जा मन्दीको अवस्थाबाट गुज्रिरहेको छ। अघिल्लो महिनामा भएको कर्जा प्रवाह समेत घटिरहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरिरहेको छ।
समग्रमा कर्जाको माग घटे पनि सवारी साधान खरिदका लागि भने कर्जा माग बढिरहेको देखिन्छ। गत वर्षको माघ महिनासम्म बैंकहरूले सवारी साधन खरिदमा १ अर्ब २६ अर्ब कर्जा प्रवाह गरेका थिए। एक वर्षको अवधिमा यो क्षेत्रको कर्जा २.३८ प्रतिशतले वृद्धि भएको हो।
चालू वर्षकै पुसभन्दा माघमा ०.६९ प्रतिशतले सवारी कर्जा थप भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। चालू वर्षको पुससम्म बैंकहरूले १ खर्ब २८ अर्ब ८० रुपैयाँ बराबरको सवारी कर्जा प्रवाह गरेका थिए।
चालू वर्षको ७ महिनामा वाणिज्य बैंकहरूले १ खर्ब १३ अर्ब, विकास बैंकहरूले १३ अर्ब ४० करोड र वित्त कम्पनीहरूले ३ अर्ब २६ करोड रुपैयाँ सवारी खरिदका लागि कर्जा प्रवाह गरेका छन्।
उक्त अवधिमा वाणिज्य बैंकहरूतर्फ सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले १५ अर्ब ८४ करोड र सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९१ करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेको छ। चालू वर्षको माघसम्म १० वाणिज्य बैंकहरूले ५ अर्ब बढी करिब १६ अर्ब रुपैयाँसम्म र १० वटाले १ अर्बमाथि ५ अर्बसम्म सवारी कर्जा प्रवाह गरेका हुन्।
उक्त अवधिमा विकास बैंकमध्ये सबैभन्दा बढी गरिमा विकास बैंकले २ अर्ब २८ करोड र सबैभन्दा कम साल्पा विकास बैंकले ५७ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन्। वित्त कम्पनीतर्फ चालू वर्षकाे माघसम्म सबैभन्दा बढी गुडविल फाइनान्सले ७४ करोड ९० लाख र सबैभन्दा कम मल्टिपर्पोस फाइनान्सले ६० लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन्।
यस्ताे छ तथ्यांक