काठमाडौं। चैत महिनाका लागिग वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमध्ये अधिकांशले चैतका लागि फागुनकै मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन्।
चैतका लागि ३ वटा बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका घटाएका छन्। अन्यले फागुनकै ब्याजदरलाई यथावत राखेका छन्। ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र हिमालयन बैंक रहेका छन्। चैतका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन्।
बचत खाताको ब्याजदर अधिकांश बैंकको स्थिर रहेको छ। एभरेष्ट बैंकले ०.०५ प्रतिशत विन्दुले बढाउनु र ०.०१ प्रतिशत विन्दुले घटाउनुबाहेक अन्य बैंकहरुको ब्याजदर स्थिर छ। यो खातामा सबैभन्दा कम ३ प्रतिशत र सबैभन्दा धेरै ३.१० प्रतिशत ब्याजदर तोकिएको छ।
त्यस्तै, व्यक्तिगत मुद्दती खाताका लागि भने ८ बैंकको ब्याजदर समायोजन भएको छ। त्यसमध्ये ५ वटा बैंकले ब्याजदर बढाएका छन् भने ३ वटा बैंकको ब्याजदर घटेको छ।
ब्याजदर बढाएका बैंकमध्ये कुमारी बैंकले ०.१० प्रतिशत बिन्दु, एनएमबी बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र नबिल बैंकले समान ०.२५ प्रतिशत बिन्दुले व्याजदर बढाएका छन्।
त्यस्तै, माछापुच्छ्रे बैंकले ०.५०, सानिमा बैंकले ०.३० र नेपाल बैंकले ०.२० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।
संस्थागत मुद्दती निक्षेपतर्फ सात बैंकको ब्याजदर परिवर्तन भएको छ। त्यसमध्ये चार बैंकले ब्याजदर बढाएका छन् भने तीन वटाले घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक र एनआईसी एसिया बैंकले ०.२५ र कुमारी बैंकले ०.२६ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन्।
त्यस्तै, हिमालयन बैंकले ०.२५, लक्ष्मी सनराइज बैंकको ०.५० र सिटिजन्स बैंकले ०.६५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।