फ्नोम पेन्ह, क्याम्बोडिया – गैरआवासीय नेपाली संघ को १०औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन यही मार्च १८ र १९ मा क्याम्बोडियाको राजधानी फ्नोम पेन्हस्थित होटल क्याम्बोडियाना मा आयोजना हुने भएको छ।
‘संगम टुगेदर वी क्यान’ नाराका साथ आयोजना हुन लागेको यो सम्मेलनमा ३०० भन्दा बढी प्रतिनिधि, १०० भन्दा बढी एनआरएनका कार्यकारीहरू, ८० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि, तथा ३५ भन्दा बढी देशका सहभागीहरू रहनेछन्।
एनआरएनएले यो सम्मेलनलाई प्रवासी नेपालीहरूबीचको सहकार्य, नेटवर्किङ तथा नवीनतम सम्भावनाहरूको खोजी गर्ने अवसरका रूपमा लिइएको छ, एनआरएन क्षेत्रिय संयोजक हरि भट्टराईले बताए। 'सम्मेलनमा आर्थिक लगानी, प्रविधि स्थानान्तरण, नेपाली डायस्पोराको भूमिकालगायत विभिन्न विषयहरूमा छलफल हुन्छ,' उनले भने ।
‘संगम टुगेदर वी क्यान’ नाराका साथ आयोजना हुन लागेको यो सम्मेलन एनआरएनएमा देखिएका मतभेद हटाई एकताको बाटो पहिल्याउने प्रमुख थलो बन्नेछ।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, अग्रज तथा अभियन्ताहरूलाई एउटै मञ्चमा ल्याउने योजना रहेको छ। एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय संयोजक भट्राईका अनुसार, एनआरएनएमा देखिएका विवाद मिलाउँदै प्रवासी नेपालीहरूलाई एकसूत्रमा बाँध्न यो सम्मेलन महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
'हामी टुट्न र फुट्न होइन, जुट्न आवश्यक छ भन्ने हाम्रो मान्यता हो। विश्वभर रहेका ८० लाखभन्दा बढी नेपालीहरूको भावना प्रतिनिधित्व गर्दै, एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनबाट ‘संगम’ को सन्देश दिनेछौं,' उनले भने ।
एनआरएनएले एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित नियमित रूपमा क्षेत्रीय सम्मेलन गर्दै आएको छ। यसपालीको सम्मेलन क्याम्बोडियामा हुन लागेको हो, जसले दक्षिण एसियाली र एसियाली डायस्पोरालाई अझै सशक्त बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।पछिल्लो पटक गैरआवासिय नेपाली बीच चुनावका विषयलाई लिएर मतान्तर भैरहेका बेला यो सम्मेलनले एकताको सन्देश दिने र एनआरएनलाई अगाडी बढाउनका लागि प्रशस्त मार्ग खोल्ने अपेक्षा आयोजकको छ ।