काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघ सरकारले गर्नु संविधान र सङ्घीयताको मर्म तथा भावनाविपरीत हुने बताएका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्न नहुने बताएका हुन्।
अर्थमन्त्री पौडेलले संघिय सरकारको सीमामा रहेर मात्र नयाँ बजेटमा कार्यक्रम पेस गर्न आग्रह गरे। उनले सहकारी, जमिनको खण्डीकरण, बाँझो जमिन, अस्थायी बसोबास, सार्वजनिक जग्गाको संरक्षण, भूमि बैंक, अभिलेखहरुको डिजिटलाइजेसनलगायतलाई सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रमहरु प्रस्ताव पेस गर्न समेत अनुरोध गरेका छन्।
छलफलमा अर्थ सचिव, भूमि सचिव, विभागीय प्रमुखलगायतको उपस्थिति थियो। नयाँ बजेट निर्माणसम्बन्धी यसअघि अर्थ मन्त्रालयले भौतिक, सहरी, ऊर्जा, स्वास्थ्य तथा जनसंख्या, उद्योग, खानेपानी, सङ्घीय मामिला, कृषि तथा पशुपन्छि मन्त्रालय छलफल गरेको थियो।