काठमाडौं। व्यवस्थापन सम्हालेको पाँच महिनामै झापामा सञ्चालित पाँचतारे होटल मेची क्राउनबाट उडान ग्रुप बाहिरिएको छ। व्यवस्थापनका लागि गत असोजमा लामो अवधिको सम्झौता गरेको उडान ग्रुप र सञ्चालकबीच कुरो नमिलेपछि पाँच महिनामै बाहिरिएको हो।
मेची क्राउन सञ्चालक समिति अध्यक्ष पवित्राकुमार कार्कीले फेब्रुअरी १७(फागुन ५)देखि नै उडान ग्रुप बाहिरिएको जानकारी दिए। ‘हामीबीच जुन सम्झौता भएको थियो त्योअनुसार काम भएन,’ अध्यक्ष कार्कीले भने, ‘उडान ग्रुपले पनि सोचेजस्तो नभएको र हामीले पनि भनेजस्तो नभएपछि आपसी सम्झदारीमै फिर्ता भएका हुन्। बिजनेस राम्रो छ, अब हामी आफैं होटल व्यवस्थापन सम्हाल्छौं।
भारतको दार्जिलिङ, गान्टुक, सिक्किमस्थित लाचुङ, सिलगुडी र कालेपुङ क्षेत्रमा होटल निर्माण तथा सञ्चालन गर्दै आएको सो ग्रुपले नेपालमा पहिलो पटक मेची क्राउन दीर्घकालीन भाडामा लिएको थियो। मेची क्राउन हाल सञ्चालनमा रहेका पाँचतारेमध्ये राम्रो चलेको होटलभित्र पर्ने गरेको छ।
मेची क्राउनमा विवाह र पार्टीका लागि भारतबाट बर्सेनि ठूलो संख्यामा पर्यटक आउने गरेका छन। सञ्चालनमा आएको छोटो समयमै वेडिङ डेस्टिनेसन र क्यासिनोका लागि रोजाइमा पर्दै आएपछि मेची क्राउनले १ वर्ष अघिबाट ६० करोड रुपैयाँ लगानी थपेर १ सय कोठा विस्तार गरेको छ।
यससँगै होटलमा २ सय ५ वटा कोठा रहेका छन। कोभिडपछि होटल व्यवसाय संकटमा परिरहेका बेला मेची क्राउनले राम्रो व्यापार गरिरहेको थियो।
भारतभन्दा सस्तो मूल्यमै विवाह गर्न सकिने भएकाले पनि धेरैको रोजाइ नेपाल पर्दै आएको छ। भारतीय सीमा नजिकै रहेकाले पनि धेरैले मेची क्राउनलाई वेडिङ डेस्टिनेसन बनाइरहेका छन।
त्यति मात्र होइन, मेची क्राउनमा नेपालकै सबैभन्दा ठूलो क्यासिनो ‘भेगास’ रहेको छ। भेगास सञ्चालक कम्पनीको भारत गोवामा पनि सञ्जाल रहेकाले धेरै भारतीय मेची क्राउनको क्यासिनोमा खेल्न आउने गरेका छन्।
होटल रहेको स्थानबाट भारतको बागडोरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १२ किलोमिटरको दूरीमा छ। सो विमानस्थल हुँदै बढी मात्रामा भारतीय र बंगलादेशी नागरिक नेपाल आउने गरेका छन्।
पूर्वी नाका काँकडभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दूरीमा रहेकाले त्यहाँका पर्यटक आउने गरेका छन्। होटलमा पाँच सुइट रूम, १० भिल्ला, २० क्लब रुम र ७० डिलक्स रुम छन। दुईवटा रेस्टुरेन्ट, ब्यांक्वेट हलसहित हेलिप्याडको सुविधासमेत छ।
आठ बिघा क्षेत्रफल ओगटेको मेची क्राउन परिसरमा १ हजार वृक्षारोपण गरिएको छ। यसले वातावरण सुहाउँदो बनाउन सहयोग पुगेको छ। त्यस्तै, स्विमिङ पुल, स्पा सेन्टर, स्टिम बाथ, जिम हल, टेनिस कोर्ट र ब्युटिपार्लर भवन परिसरमै छन्।