काठमाडौं। गण्डकी प्रदेशका ३४ स्थानीय तहमा फलफूल बगैँचा विस्तारको काम अगाडि बढेको छ। ती जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत फलफूल बगैँचा विस्तार गर्ने थालिएको हो।
नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोगमा दुई वर्षअघि उक्त आयोजना सञ्चालनमा आएको थियो। हालसम्म दुई सय ४२ हेक्टर क्षेत्रफलमा फलफूल बगैँचा विस्तारका लागि सम्झौता भई काम सुरु भएको प्रदेश कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलले जानकारी दिए।
उनका अनुसार सन् २०२९ भित्र १० जिल्लामा गरी दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा पहाडी काष्ठफल तथा फलफूलखेती विस्तार गर्ने लक्ष्य लिइएको छ। “पहाडी भेगमा एकैठाउँमा ठूलो जग्गा व्यवस्थापन गर्न सहज नभएकाले आयोजनामा प्रस्ताव कम परिरहेको छ, सूचनामार्फत आवदेन माग गर्ने गरिएको छ”, उनले भने, “न्यूनतम २० रोपनी जग्गा भएको समूह, सहकारी या कृषि फार्मले आवदेन दिन मिल्छ छ ।”
फलफूल खेतीका लागि बीउबीजन, सिँचाइ, यान्त्रीकरण आदिमा ५० प्रतिशत अनुदान दिने गरिएको कृषि अर्थविज्ञ पौडेलले बताए। न्यूनतम २० रोपनीदेखि बढीमा पाँच सय रोपनी क्षेत्रफलसम्म खेती गर्नेलाई अनुदान दिने प्रावधान रहेको छ। क्षेत्रफल र फलफूल बालीअनुसार अनुदान फरकफरक रहेको निर्देशनालयले जनाएको छ।
बागवानी क्षेत्र व्यवस्थापनसँगै किसानलाई व्यावसायिक फलफूलखेतीतर्फ आकर्षिक गर्न यस कार्यक्रमले मद्दत पुग्ने विश्वास लिइएको छ। पहाडी क्षेत्रमा दश प्रजातिका फलफूल बालीको विकास तथा विस्तार गर्ने उद्देश्यले गण्डकीसहित पाँच प्रदेशका ३४ जिल्लामा सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।