काठमाडौं। लगातारको सात दिनको गिरावटपछि सेयर बजारमा सुधार आएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा रोकिएको हो।
यसअघिका सात कारोबार दिन भने नेप्से लगातार घटेको थियो। फागुन १९ गतेदेखि लगातार संकुचित बनेको बजार सात कारोबार दिनमा १७१ अंकले घटेपछि बुधबार सकारात्मक बनेको हो।
फागुन १९ अघिका नौ कारोबार दिन भने नेप्से लगातार बढ्दै २१२ अंकले उकालो लागेको थियो। आज बजार बढेपनि कारोबार रकम भने घटेको छ। बुधबार नेप्सेमा कुल ८ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार भने कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये १४४ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज विकास बैंक समूहको सेयर मूल्य ०.३३ प्रतिशतले घट्दा बैंकिङ समूहको सेयर मूल्य ०.५३ प्रतिशत, फाइनान्स समूहको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६४ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ०.८५ प्रतिशतले बढेको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य १.७६ प्रतिशत, जीवन बिमा समूहको ०.६४ प्रतिशत, उत्पादन समूहको ०.१८ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.४० प्रतिशतले बढेको छ। लघुवित्त समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ।