काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्स र एयरटेलले भारतमा उच्च गतिको इन्टरनेट सेवा ल्याउने उद्देश्यले सम्झौता गरेका छन्।
एयरटेलले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत यसबारे जानकारी सार्वजनिक गरेको छ। एयरटेलको आधिकारिक भनाइअनुसार, ‘एयरटेलले स्पेसएक्ससँग सम्झौता गरेको छ, जसअनुसार भारतका ग्राहकहरूका लागि स्टारलिंकको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइनेछ।’
एयरटेलले भनेको छ, ‘यो भारतमा भएको पहिलो सम्झौता हो, तर यसको कार्यान्वयन स्पेसएक्सलाई भारतमा स्टारलिंक सेवा सञ्चालन गर्न आवश्यक अनुमति प्राप्त भएपछि मात्र हुनेछ।’
सम्झौताअनुसार, एयरटेल र स्पेसएक्सको सहकार्यमा स्टारलिंक सेवाले एयरटेलको इन्टरनेट सेवालाई कसरी थप प्रभावकारी बनाउन सक्छ भन्ने मूल्याङ्कन गर्नेछन्।
साथै, एयरटेलको भारतीय बजारसम्बन्धी अनुभवको सहायताले स्पेसएक्सका सेवाहरूलाई अझ प्रभावकारी बनाइने पनि सम्झौतामा उल्लेख छ । सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा इन्टरनेट जडान विस्तार गर्ने लक्ष्य पनि समेटिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्गटनमा मस्कसँग भेटवार्ता गरेको केही हप्तापछि यो सम्झौता भएको हो ।