काठमाडौं। विगत ९ महिनादेखि नेपाल एअरलाइन्सको आन्तरिक उडान ठप्प छ। अन्तर्राष्ट्रिय उडान गरिरहेका ४ वटा जहाजहरू बेला-बेला ग्राउण्डेड हुँदै उड्दै आएका छन्। न्यारोबडी जहाजको मर्मत सम्भार समयमा हुन नसक्दा यात्रुहरुले दुःख पाउने नियमित जस्तै भइसकेको छ।
यात्रु पाउँदै आएका विभिन्न गन्तव्यमा अहिले नेपाल एअरलाइन्सको उडान तालिका कटौती गरिएको छ। आन्तरिक उडान कहिलेबाट सञ्चालनमा आउँछ? टुंगो लाग्न सकेको छैन। तर, ९ महिनादेखि मासिक ७ लाख तलब लिएर त्यसमा आबद्ध पाइलटहरू बसिरहेका छन्। यस्तै, आन्तरिक विमानस्थलमा कर्मचारीहरू महिनौदेखि काम नगरी तलब बुझिरहेका छन्।
यी बाहिर देखिएका समस्याहरू प्रतिनिधिमूलक मात्रै हुन्। यस्ता कयौँ समस्या नेपाल एअरलाइन्सभित्र यत्रतत्र छन्। एअरलाइन्सलाई व्यवस्थित बनाउन सरकारले नियुक्त गरेका कार्यकारी अध्यक्ष युवराज अधिकारी बेलगाम आफ्नो अडानलाई अगाडि बढाइरहेका छन्।
कार्यकारी अध्यक्ष अधिकारीलाई पनि निर्देशन दिने र सही बाटोमा हिँडाउन निर्णय गर्ने सञ्चालक समितिले उनलाई बेलगाम छाडिदिएको हो। अर्थात अहिले सञ्चालक समितिले कार्यकारी अध्यक्ष अधिकारीलाई आफ्नो नियन्त्रणभन्दा बाहिर राखेको छ। समितिको मातहतमा चल्नुपर्ने अध्यक्ष अधिकारी आफू खुसी निर्णय गर्दै आएको गुनासो बढ्न थालेको छ।
एअरलाइन्सका एक सञ्चालक समितिका सदस्यका अनुसार कतिपय निर्णय आफू खुसी गर्ने र पारित गर्न मात्र समितिमा ल्याउँछन्। ‘पारित नगर्दा विवाद बढ्दै जाने भएकाले जे प्रस्ताव आउँछ, त्यो सबै मान्ने गरेका छौँ,’ ती सञ्चालक समितिका सदस्यले भने, ‘कतिपय निर्णयहरुमा छलफलसमेत हुँदैन।’
कतिपय जोखिमयुक्त वा विवादित निर्णय गर्नु परे बैठकमा अध्यक्ष अधिकारी उपस्थित हुँदैनन्। कतिपय अवस्थामा विभिन्न उपसमितिहरु बनाएर निर्णय गराउँदै आएका छन्।
संसदीय समिति र मन्त्रालयमा कर्मचारीको भर
कुनै घटना वा विषयको उत्तर दिनु परेमा यस्ता ठाउँमा कार्यकारी अध्यक्ष अधिकारी जाँदैनन्। विभिन्न बाहनामा मुलुकबाहिर जाने र यस्ता कार्यक्रममा कर्मचारीलाई पठाउने गरेका छन्।
समितिमा छलफलका क्रममा सांसदहरुले गर्ने गालीदेखि अन्य कर्मचारीको गालीसमेत तीनै एअरलाइन्सका कर्मचारीहरुले खानु परेको छ। ‘आफै उपस्थित हुँदा फेस गर्न नसक्ने भएकाले कर्मचारीहरुलाई पठाउने गरेका छन्,’ एअरलाइन्सका अर्का सञ्चालकले भने, ‘बैठकमा नजाऊँ जागिरको कुरा छ, जाऊँ गाली खाइन्छ भन्ने भएको छ।’
देशबाहिरै हुन्छ महत्वपूर्ण ‘डिल’
एअरलाइन्सको विश्वस्त श्रोतका अनुसार कार्यकारी अध्यक्ष अधिकारीले गर्ने डिलहरु मुलुकबाहिर हुने गरेको छ। विभिन्न मुलुकमा दिने जनरल सेल्स एजेन्ट (जिएसए), जिएसए नवीकरण, इञ्जिन मर्मत, इञ्जिन भाडामा दिनेलगायतका अन्य कामका लागि देशबाहिर गएर डिल गर्ने गरेको श्रोतको दाबी छ।
मूलतः भारत, अष्ट्रेलिया र थाइल्याण्ड जस्ता मुलुकमा डिल गरी स्वदेश आएर निर्णय गराउने गरेका छन्।
आफू खुसी कटाए उडान, समितिलाई छैन जानकारी
पर्याप्त यात्रुहरु भए पनि विभिन्न गन्तव्यमा कार्यकारी अध्यक्ष अधिकारीले आफू खुसी उडान कटौती गरेका छन्।
पछिल्लो समय भारतको नयाँ दिल्लीमा साताको १४ उडानबाट घटाएर ७, युएईमा ७ बाट ४, दोहामा ७ बाट ६, हङकङमा ३ बाट १ वा २, बैंगलोरमा ३ बाट २ वा १ र बम्बईमा ३ बाट १ उडानमा सिमित गरेको छ।