काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले महिला नेतृत्व सम्मेलन गर्ने भएको छ। सीएनआईले आगामी चैत ३ गते अन्तर्राष्ट्रिय स्तरको दोस्रो वमन लिडरसिप समिट २०२५ काठमाडौमा गर्ने भएको हो।
परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने परिसंघले जनाएको छ। सीएनआईका अनुसार सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन, बीवेण्ड बाउन्ड्रिज विषयमा छलफल हुने छ।
यस्तै मंगलबार परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने बताए।
सो सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवम् प्रभावशाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले दाबी गरिइन्।