काठमाडौं। एउटै डुंगाका दुई कम्युनिस्ट पार्टी सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्षबीच पछिल्ल्लो समय सम्बन्ध तुषिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मात्रै होइन, प्रतिनिधिसभा र राष्ट्रिय सभामा समेत दुई पार्टीका सांसदबीच तँ तँ...मम भइरहेको छ।
आज बोलाइएको संघीय प्रतिनिधिसभा बैठकमा समेत दुई नेताबीचको सम्बन्ध तुषिएको देख्न पाइनेछ। प्रधानमन्त्री ओली प्रतिनिधिसभामा दाहाल बोल्ने दिन कोसी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न विराटनगर जाँदै छन्।
प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। प्रधानमन्त्रीको सचिवालयले भने दिउँसो साढे २ बजेबाट सम्बोधन गर्ने तयारी रहेको जनाएको छ। पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सकिएपछि ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने बताइएको छ।
कोसी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार प्रधानमन्त्रीको सम्बोधनका लागि दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
आजको प्रदेशसभा बैठकमा सत्तारुढ एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन् भने नेकपा माओवादी केन्द्रका सांसदले वहिष्कारको चेतावनी दिएका छन्।
प्रतिपक्षी दलले सर्त राखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोगको आग्रह गरेका छन्। समाचार तयार पारुन्जेल नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदले प्रधानमन्त्रीको प्रदेशसभा सम्बोधन वहिष्कार गर्ने बताएका छन्।
आज प्रधानमन्त्री ओली मोरङको सुन्दरहरैचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा सेनाको हेलिकोप्टरबाट ओर्लिनेछन् भन विश्वविद्यालय परिसरमा निर्मित गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च शैक्षिक भवन र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एन्ड साइन्स शैक्षिक भवनको उदघाटन गर्नेछन्।
दिउँसो १२ बजेबाट पूर्वाञ्चल विश्वविद्यालयको ४०औं विशेष सभा बैठक तथा १३ औं दीक्षान्त समारोहमा सहभागी हुनेछन्। त्यसपछि दिउँसो साढे २ बजे कोसी प्रदेशसभालाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
यता, आज दिउँसो १ बजेका लागि बोलाइएको संघीय प्रतिनिधिसभा बैठकमा मुख्य प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गर्दै छन्।
कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकमा प्रतिपक्षी दल नेता दाहाल बोल्ने कार्यसूची राख्ने तय भएको थियो।
सामान्यतया भइपरीबाहेक लोकतन्त्रमा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री र प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दल नेता उपस्थित हुने परम्परा छ।
तर, आजको प्रतिनिधिसभा बैठकमा दाहालले सम्बोधन गरिरहँदा प्रधानमन्त्री विराटनगरमा हुनेछन्।
यसअघि माघ २४ गते प्रमुख प्रतिपक्षी दल नेता दाहालले प्रतिनिधिसभामा बोल्दा पनि प्रधानमन्त्री अनुपस्थित थिए। दाहालले ओलीलाई बैठकमा नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।