काठमाडौं। इलाम रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ। करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिए। छवटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो ? उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ।
“अहिले एक सय २१ जना छानिनुभएको छ, यो सङ्ख्या क्रमशः वृद्धि हुन्छ”, गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, “किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले विगत वर्षदेखि यो अवधारणा अघि सारेको हो।” यो अवधारणा नेपालमा नै पहिलो भएको गाउँपालिकाको दाबी छ। आगामी चैत ७ गते एक कार्यक्रमका बिच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने स्याङ्बोले बताए।
रोङ–१ बडारेका मनबहादुर राईले १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरेका छन्। “मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदोरहेछ”, किसान राईले भने, “आउँदो वर्ष यही खेतीमा अझ मेहेनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ।”
पहिलो चरणमा छनोट भएकाहरूलाई अभिमुखीकरण तालिम दिएको उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन्। किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले गुरु किसान कार्यक्रम ल्याइएको उपाध्यक्ष भुजेलको भनाइ छ।