काठमाडौं। प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा उक्त संशोधनमाथि छलफल पनि हुनेछ। यस्तै, वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।
सोमबार प्रमुख सचेतकको बैठकमा आज प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो। सोही अनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।

सम्भवतः पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले आजको बैठकमा पछिल्लो समयको राजावादी चलखेल, मुलुकको राजनीतिक अवस्थालगायत विषयमा सरकारसँग सोधीखोजी गर्नेछन्।