काठमाडौं। नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुलाएको छ।
सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहति सुरु कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएकाहरु सहभागी हुन सक्नेछन्। आगामी चैत २५ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुनेछ। यसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश रहेको बैंकले बताएको छ।
यसमार्फत हालसम्म तीन समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिइसकेको छ।
कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् भने पाँचौं समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनोट हुने बैंकले जनाएको छ।
सहभागिताका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ। कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिनेछ। बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी इमेलमार्फत पनि पठाउन सकिनेछ।
कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमी सहभागी हुन सक्नेछन्।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल एसएसई कार्यक्रम तीन वर्ष देखि सञ्चालन गर्दै आएको छ।
नबिल एसएसईअन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म ११७ उद्यम स्थापना भई १ हजार २ सय बढी रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ।