काठमाडौं। एक वर्षअघि बैंकबाट कर्जा लिने ऋणीलाई ब्याजको भार कम परेको देखिएको छ। गत वर्षको माघसम्म कर्जा प्रवाहित कर्जाको ब्याजदर चालु वर्षको माघसम्म आइपुग्दा औसत २.८४ प्रतिशतले घटेको हो।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार गत वर्षको माघ महिनासम्म बैंक तथा वित्तीय संस्था (लघु वित्तबाहेक)को कर्जाको औसत ब्याजदर १२.६२ प्रतिशत कायम थियो। जुन चालु वर्षको सोही अवधिमा आइपुग्दा २.८४ प्रतिशत विन्दुले घटेर ९.७८ प्रतिशत कायम भएको छ।
एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको २.५३ प्रतिशत विन्दुले घटेर ८.५५ प्रतिशत, विकास बैंकहरुको २.९३ प्रतिशत विन्दुले घटेर ९.९ प्रतिशत र वित्त कम्पनीहरुको ३.०५ प्रतिशत विन्दुले घटेर १०.८८ प्रतिशत कायम भएको छ।
एक वर्षअघि कायम कर्जाको बयाजदर घट्दा ऋणीलाई कम ब्याज दर पर्न गएको हो। घटेको ब्याजदर नयाँका हकमा तुरुन्तै लागू भए पनि पुरानाका हकमा भने बैंकहरुले विस्तारै समायोजन गर्दै जाने गरेका छन्।
बैंकहरुको आधार दर (बेसरेट) नै घट्दा कर्जाको ब्याजदर घटेको देखिन्छ। एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको बेसरेट औसत २.८४ प्रतिशत विन्दुले घटेको देखिन्छ। उक्त अवधिमा वाणिज्य बैंकहरुको औसत बेसरेट २.६ प्रतिशत विन्दुले घटेर ६.४६ प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा विकास बैंकहरुको बेसरेट २.६१ प्रतिशत विन्दुले घटेर ८.५२ प्रतिशत र वित्त कम्पनीहरुको ३.३१ प्रतिशत विन्दुले घटेर ९.३९ प्रतिशत कायम भएको छ।
बैंकहरुले निक्षेपको खर्च घटेपछि बेसरेट घटाउँदा कर्जाको औसत ब्याजदरसमेत घटेको हो। गत वर्षको माघमा वाणिज्य बैंकहरुको औसत निक्षेप ब्याजदर ७.०१ प्रतिशत कायम थियो। एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर २.३९ प्रतिशत विन्दुले घटेर ४.६२ प्रतिशत कायम भएको छ।
साथै, उक्त अवधिमा विकास बैंकहरुको निक्षेपको ब्याजदर २.८५ प्रतिशतले घटेर ५.४१ प्रतिशत र वित्त कम्पनीहरुको २.९८ प्रतिशतले घटेर ६.४७ प्रतिशत कायम भएको छ।
