काठमाडौं। पछिल्लो समय लगातार ९ कारोबार वृद्धि हुँदा उल्लासमय बनेको सेयर बजार पुनः निरासातर्फ धकेलिएको छ। फागुन १ गते २६७८.४७ विन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ दिन कारोबार हुँदा २१२ अंकको वृद्धि भएको थियो। योसँगै फागुन १८ गतेसम्म आइपुग्दा २८९०.२८ विन्दु पुगेको थियो।
तर, त्यसयता लगातार ६ दिनको कारोबारमा घट्दै नेप्से पुनः निरासातर्फ मोडिएको हो। चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअघि अर्थात् फागुन ४ देखि फागुन १३ गतेसम्मको ७ कारोबारमा नेप्से लगातार उकालो चढ्दै ८७ अंकले बढेको थियो। सोही क्रममा फागुन १३ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्यो।
मौद्रिक नीति सार्वजनिकपछि बजार फागुन १५ मा ४९ अंक र फागुन १८ मा ७५ अंक गरी दुई दिनमै १२७ अंकले बढ्यो। फागुन १८ सम्म आइपुग्दा नेप्से २१२ अंकले बढेकाले करेक्सन आउने अपेक्षा गरिएको थियो। सोहीअनुसार फागुन १९ मा नेप्से १३ अंक, फागुन २० मा ३० अंक र फागुन २१ मा २५ अंक गरी तीन दिनमा ६९ अंकले गिरावट भयो।
तीन दिन लगातार दोहोरो अंकले घटेपछि फागुन २२ मा बजारले केही सम्हालिने प्रयत्न गर्यो। यस दिन नेप्से २ अंकले मात्रै घट्दै २८१८.४३ विन्दुमा रोकियो। गत साताको अन्तिम कारोबार दिन बिहीबार (फागुन २२) नेप्से २ अंकले मात्रै घटेकाले यस साता सकारात्मक भएर जाने अपेक्षा गरिएको थियो।
गत साताको बिहीबार नै करेक्सन चक्र पूरा गरेर सम्हालिने संकेत गरेको बजारमा पछिल्लो दुई दिनमै ६७ अंकले घट्यो।
यद्यपि, साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४६ अंक र सोमबार २० अंकले घट्यो। समग्रमा पछिल्लो ६ कारोबार दिनमा नेप्से १३९ अंकले घट्दै २७५१.४२ विन्दुमा फर्कियो। फागुन १९ गते (सोमबार) २९२९.२१ विन्दुसम्म (त्यस दिनको उच्च) पुगेको नेप्से हाल २७५१ विन्दुमा मात्रै खुम्चिएको छैन, कारोबार रकममा भारी गिरावट भएको छ।
फागुन ४ गते बजार १९ अंकले बढ्दा ९ अर्ब २७ करोड बराबरको मात्रै कारोबार भएको थियो। त्यसबाट सूचकसँगै कारोबार रकम पनि प्रायः प्रत्येक दिन उकालो लाग्दै फागुन १८ गते नेप्सेमा कुल १४ अर्ब ११ करोड रुपैयाँसम्म कारोबार भयो। त्यसपछि नेप्से परिसूचकसँगै कारोबार पनि घट्दै गयो। आज (सोमबार)सम्म आइपुग्दा नेप्सेमा कुल ८ अर्ब २७ करोडमा खुम्चिन पुग्यो।
गत साताको बिहीबार नै करेक्सन चक्र पूरा गरेर सम्हालिने संकेत गरेको बजारमा पछिल्लो दुई दिनमै ६७ अंकले घट्यो। यो साताअगाडि सकारात्मक देखिएको बजारमा एकाएक गिरावट किन आयो? साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी राजनीतिक सरगर्मी र धितोपत्र बोर्डका केही कदम यसका मुख्य कारण भएको बताउँछन्।
‘गत साताको बिहीबार करेक्सन चक्र पूरा भएको संकेत गरेर बजारले उकालो लाग्ने माहोल देखाएको थियो। तर, केही समयदेखि निरन्तर चल्दै आएको राजतन्त्रवादी आन्दोलन आइतबार थप उत्कर्षमा पुग्यो,’ जिसी भन्छन्, ‘यसले राजनीतिक अस्थिरता ल्याउने र आफ्नो लगानी असुरक्षित हुने हो कि भन्ने त्रास लगानीकर्तामा ल्यायो।’
यसका अलावा, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेमा सूचीकृत इन्भेष्टमेन्ट कम्पनीहरूले दोस्रो बजारमार्फत कुनै पनि कम्पनीको सेयर खरिद गर्न नपाउने व्यवस्था गरेको विषय बाहिर आयो।
लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेकाले यसको असर सेयर बजारमा देखिएको उनको तर्क छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा विमानस्थलमा स्वागत गर्न राजावादीहरू पुगेका थिए। जसको निकै चर्चा भएको थियो। यसैले बजारमा लगानीको माहोलमा केही असर परेको उनको भनाइ छ।
यसका अलावा, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेमा सूचीकृत इन्भेष्टमेन्ट कम्पनीहरूले दोस्रो बजारमार्फत कुनै पनि कम्पनीको सेयर खरिद गर्न नपाउने व्यवस्था गरेको विषय बाहिर आयो। यस कारणले पनि बजारमा असर गरेको अध्यक्ष जिसी बताउँछन्। ‘यही बीचमा सेबोनले इन्भेस्टमेन्ट कम्पनीको विषयमा सूचना जारी गर्यो। जसले केही कम्पनीमा प्रत्येक्ष असर पर्ने देखिँदा त्यसको प्रतिक्रिया पनि बजारले जनाएको हो,’ उनले भने।
सेबोनले सूचीकृत इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिदका सम्बन्धमा २०७५ मंसिर १२ र २०७६ वैशाख ३० गते यसबारे निर्णय गरेको थियो। सोही व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले २०८१ फागुन २२ गते सम्पूर्ण निष्कासन तथा बिक्री प्रबन्धकलाई पत्राचार गर्दै निर्देशन दिएको हो।
बोर्डले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सीईडीबी होल्डिङ्स (साबिक सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी), इमर्जिङ नेपाल र हाथवे इन्भेस्टमेन्ट नेपाललाई दोस्रो बजार र लिलामी बढाबढ प्रक्रियामार्फत सेयर किन्न नपाउने जनाएको हो। यसैले आइतबार र सोमबार लगानी समूहको सेयर मूल्यमा उच्च गिरावट आएको देखिन्छ।
सोमबार लगानी समूहका सात वटै कम्पनीको सेयर मूल्य घट्दा यस इन्डेक्समा १.५१ प्रतिशतको गिरावट आएको छ। अघिल्लो कारोबार दिन आइतबार पनि लगानी समूहको सेयर मूल्यमा सर्वाधिक अर्थात् २.४९ प्रतिशतको संकुचन आएको थियो।