काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूले अप्ठेरोमा परेका ऋणीलाई सहयोग गर्नुको साटो झनै कठिन परिस्थितिमा लैजाने व्यवहार गरेको देखिएको बताएका छन्। बैंकहरूलाई ऋणीप्रति कठोर व्यवहार नगर्न प्रधानमन्त्रीको आग्रह छ।
आज काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ अवसरमा सहभागी प्रधानमन्त्री ओलीले ऋण नतिर्नेलाई खराब ऋणी भनिए पनि साहू खराब भइरहेको परिस्थति देखिएकाले घाँटी निचोर्ने काम नगर्न सुझाए।
‘भन्दाचाहिँ खराब ऋणी भन्ने, तर त्यहाँ साहू खराब हुन्छ। अप्ठेरो परेका बेला सहयोग गरेर अगाडि बढ्नुपर्नेमा घाँटी निचोर्ने खाले काम हुन्छ। यसबाट जोगिनुपर्छ। ऋणी अप्ठरोमा परेका बेला बैंकले सहयोग गर्नुपर्छ’, उनले भने।
प्रधानमन्त्रीले ऋण असुल्न हतारो गर्नुभन्दा व्यवसाय जोगाउने उपाय सोच्न बैंकहरुलाई आग्रह गरे। उनले भने, ‘जब ऋणी अप्ठेरोमा पर्छ, तब बैंकले तिनलाई थप सहयोग गर्नु आवश्यक छ। ऋण असुल्न हतार गर्ने होइन, व्यवसायलाई जोगाउने उपाय खोज्नुपर्छ, ताकि ऋण फिर्ता गर्ने वातावरण बनोस्।’
उनले उद्योगी व्यवसायीलाई आर्थिक कठिनाइ परेका बेला बैंकहरूले तत्काल असुली गर्न खोज्ने प्रचलन सुधार्न आग्रह गरे।
‘धेरैजसो ऋणी ऋण तिर्न चाहे पनि कहिलेकाहीँ परिस्थितिले अप्ठेरो पार्छ। बैंकहरूले कठोर नीति अपनाएर होइन, उचित समाधान खोजेर ऋण उठाउनुपर्छ । यदि ऋणीलाई डुब्नबाट जोगाए मात्रै उसले ऋण तिर्न सक्छ,’ ओलीले भने।
उद्यमशीलताको विकास नगरी रोजगारी त्यत्तिकै अकासबाट नझर्ने उनको भनाइ छ। सबैले जागिर मात्रै खोज्ने भए कसले दिने भन्दै उनले प्रश्न गरे। रोजगारी अवसर सिर्जना गर्न सरकारभन्दा बढी निजी क्षेत्र क्रियाशील हुनुपर्ने उनको धारणा छ।